Logo

तयारीका साथ संसद्मा प्रस्तुत हुन प्रमको निर्देशन



काठमाडौं, फागुन २३ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय मर्यादा र अनुशासनको ख्याल राख्दै संसद्मा ठोस तयारीसाथ क्षमता प्रस्तुत गर्न सांसदहरूलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले जनताका आवाजलाई संसद्मा मुखरित गर्न सांसदहरू प्रतिस्पर्धी र अब्बल हुनुपर्नेमा जोड दिएको संसदीय दलले जनाएको छ । उनले राजनीतिक खिचातानीका कारण सांसदहरूको क्षमता अभिवृद्धिमा पार्टीको ध्यान पुग्न नसकेको चर्चा गर्दै उनले भने, “सांसदहरूले आफ्नो क्षमता प्रस्तुत गर्ने स्थल भनेको संसद् हो । त्यसका लागि ठोस तयारी गर्नुस् ।”

संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले भने, “प्रधानमन्त्रीले सङ्क्षिप्त कुरा राख्नुभयो । उहाँले सांसद सङ्ख्याको चिन्ता नलिन आग्रह गर्नुहुँदै चोइटिएकाहरूको नियत पटाक्षेप हुँदै जाँदा क्रमशः सांसद सङ्ख्या १३० सम्म पुग्ने बताउनुभयो ।” मुख्य सचेतक भट्टराईका अनुसार दलको बैठकमा राष्ट्रिय सभाका २४ र प्रतिनिधि सभाका ८७ सांसद गरी १११ जनाको उपस्थिति थियो ।

दलको जानकारीमै सांसद बिन्दा पाण्डे, शेरबहादुर तामाङ, गोकुल बाँस्कोटा र शान्ति पाख्रिन कामविशेषले बाहिर रहेकाले जम्मा ११५ सांसद आफ्नो पक्षमा रहेको मुख्य सचेतक भट्टराईले जानकारी दिएको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्