काठमाडौं, २३ फागुन । जग्गा धनीलाई थाहा नै नदिई उनीहरुको जग्गा बिक्रि गरिदिने एक खतरनाक गिरोह प्रहरी फन्दामा परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले तीन मालपोत कर्मचारीसहित १२ जनालाई पक्राउ गरेको हो ।
विजय कुमार खड्का, बाल प्रसाद भट्ट ,पुन्य प्रसाद दाहाल काफ्ले, यन्द्रबहादुर घले, बालकृष्ण बुढाथोकी, लक्ष्मी घतानी, विजय प्रकाश सुनुवार कृष्ष्ण बहादु दर्लामी र कृष्णबहादुर कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले बेल्जियम बस्दै आएकी मिना खड्काको थानकोटको २० आना जग्गा बिक्रि गरेका थिए । सो जग्गा कुमार दाहाल खत्रीलाई समेत बैना गरेका थिए । होटलमा गएर मालपोतका कर्मचारीले जग्गाको डोर पास गरिदिएका थिए । खड्काको नाममा नक्कली नागरिकता बनाई नक्कली जग्गाधनी खडा गरेर जग्गा पास भएको थियो ।
सो गिरोहलाई साथ दिने मालपोत कार्यालय कलंकीका तीन कर्मचारीहरु दीपक दाहाल, नारायण श्रेष्ठ र दीपा पंगेनीलाई प्रहरीले गत महिना पक्राउ गरेकोमा उनीहरु धरौटीमा छुटेका छन् । सोही मुद्दामा अनुसन्धान गर्ने क्रममा गिरोह पत्ता लागेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी रमेश बस्नेतले बताए । पक्राउ परेकामध्ये केही यस्तै अपराधमा विगतमा जेल बसेर छुटेका व्यक्ति समेत छन् ।-दृष्टिबाट/File Photo