Logo

देवताको शहरः काठमाडौं



डा. विजय ज्ञवाली : प्रिय अमोहा ! म देवताको शहरमा छु । काठमाडौं देवताको शहर हो । काठमाडौंमा मन्दिर मात्र होइन, भित्ता भित्तामा देवता टाँसिएका छन् । भित्तामा कसैले फोहोर फाले मान्छे देवता लगेर टाँसिदिन्छन् । कतिलाई भन्नु नफाल भनेर मान्छेहरु बोल्नेले भनेको मान्दैनन् । बरु नबोल्ने देवतासित डराउने गर्छन् । यो सहर देवताको सहर भएको छ ।  कतै श्रद्धाका रुपमा, कतै डरको रुपमा । कतै खुसाएका कतै रिसाएका देवता । म कहिलेकाहीँ घोरिएर हेर्छु । आँखा जुधाउँछु । यी सजीव मानिएका निर्जीव देवतासित ।

बिहानदेखि मानिस यी देवता अघि लामबद्ध हुन्छन् । पहिला लड्डु नरिवल फूल-अक्षता चढाउँछन् । अनि हात जोड्छन् । पहिला केही दिन्छन् अनि बदलामा केही माग्छन् । यो लेनदेन सबै देवताको घरमा चल्छ । मलाई लाग्दैन, यो चलन देवताले चलाएका होलान् ? यो चलन मानिसले चलाएका हुन् । मान्छेको तर्क पनि ठीक हो । केही नदिई के केही माग्नु !
हामी व्यापारी हौं । प्रकृतिले नै हामीलाई व्यापार गर्न सिकाएको छ । फूलको बोटलाई मलपानी दिएपछि बल्ल उसले तिमीलाई फूल दिन्छ । मल र पानी नदिएको फूलको बोटसित हामीले फूलको आशा गरेर हुन्छ त ? यो लेनदेन त चलिरहने कुरा हो । यो लेनदेन विश्वासका भरमा चलेको छ । विश्वास भएर त हामी देवताको अघि आँखा चिम्लेर हात जोडेर माग्छौं । विश्वास नहुँदो त हाम्रा आँखा खुला हुन्थे होला !

बस्, हामीले म तिम्रो घरमा पुगें भन्ने जनाउदिनँ, घन्टी बजाउनु पर्छ । बाँकी सबै विश्वासमा चलेको छ । विश्वासले शान्ति दिन्छ, आत्मविश्वास दिन्छ । त्यो आत्मविश्वासले मिहिनेत गर्छौं, कर्म गर्छौं । हाम्रो काम बन्छ । अनि त्यो नेको कामको श्रेय त त्यो आत्मविश्वास दिनेलाई नै जाने हो । त्यसैले त मन्दिरमा माग्नेहरुको मात्र होइन, कृतज्ञता जनाउनेहरुको पनि भिड हुन्छ ।

अमोहा ! आस्तिकका त देवता हुन्छन् तर नास्तिकका को हुन्छन् त आत्मविश्वास र शान्ति दिन ? नास्तिकका पनि देवता हुन्छन् । उनीहरु कर्म, प्रेरणासाथ माया वा अरु कुनै रुपमा उनको वरिपरि हुन्छन । घरमा हुन्छन्, अफिसमा हुन्छन् वा कुनै कहीँ कुनै न कुनै रुपमा ती आत्मविश्वास र शान्ति दिइरहेका हुन्छन् । बस् ती देवता कहलिँदैनन् । यी मानिसजस्ता देखिन्छन् । अब तिमी आस्तिक वा नास्तिक बन, तिम्रै रोजाइ हो ।

यो देवताको सहरमा घुम्दा भित्तामा टाँसिएका रिसाएका-हाँसेका देवता देख्दा, मुखाकृति हेर्दा मलाई रमाइलो लाग्छ । यी सजीव हुँदा हुन् त हामीजस्तै हुँदा हुन् जस्तो लाग्छ । अमोहा ! शिवरात्रिमा बालिएका धुनीले देवताको सहर रमाइलो भएको छ । म यहीँ बसी तिमीलाई सम्झिँदै छु । WelcomeNepal

 



प्रतिक्रिया दिनुहोस्