काठमाडौं, फागुन २३ । प्रतिनिधिसभा पुनःस्थापित भएपछि बसेको पहिलो बैठक नै बहिष्कार र अवरुद्ध हुनपुगेको छ । संसद् पुनःस्थापना भएपछि आइतवार बसेको संसद्को बैठक सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहले सरकारको वैधतामाथि प्रश्न उठाउँदै बहिष्कार गरेको हो ।
निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी शुरु भएको संसद् बैठकमा सभामुख अग्नि सापकोटाले बैठक प्रारम्भ गरेलगत्तै प्रचण्ड–नेपाल समूहका सांसद भीम रावलले सरकारको वैधानिकतामाथि प्रश्न उठाए।
सभामुखले मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन लागेपछि प्रचण्ड–नेपालका सांसदहरु बैठक बहिष्कार गर्दै बैठकस्थलबाट बाहिरिएका थिए ।
त्यसलगत्तै सभामुख सापकोटाले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अगाडि बढाउन खोजेपछि प्रमुखप्रतिपक्ष दल नेपाली कांग्रेसले बैठक अवरुद्ध गरेको थियो । नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले प्रतिनिधिसभा पुनःस्थापनागर्ने सर्वोच्च अदालतको निर्णयको स्वागत गर्दै पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक सहज सुचारु हुन नसकेकोमा पनि गम्भीर रुपमा लिएको बताईन् ।
उनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकार नगर्ने जनाईन् ।आइतबारको प्रतिनिधिसभाको बैठकमा सरकारले संसद् नभएका बेला ल्याएका अध्यादेशहरु पेस गर्ने कार्यसूची राखेको विरोधमा प्रचण्ड–नेपाल समूहले आपत्ति जनाउँदै बहिष्कार गरेको थियो ।
बैठकको शुरुमा नै प्रचण्ड–माधव समूहका सांसद भीम रावलले प्रतिनिधिसभामा शोक प्रस्ताव पारित गर्ने दिन कार्यसूचीमा अन्य विषय नराखिने प्रचलन भएको भन्दै अध्यादेश पेस गर्ने कार्यसूची राखेकामा विरोध जनाएका थिए । तर सभामुख अग्निप्रसाद सापकोटाले सरकारले ल्याएका अध्यादेश संसद् बैठक शुरु भएकै दिन पेस गर्नुपर्ने कानुनी बाध्यता रहेकाले अध्यादेशलाई कार्यसूचीमा राखिएको प्रष्टीकरण दिएका थिए ।
प्रमुखप्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गरेपछि सभामुख सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए। तर दलहरुबीच सहमति जुट्न नसकेपछि संसद् बैठक फागुन २६ गते बस्ने गरी स्थगित गरिएको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।