Logo

हिउँले कोरोना खोप प्रभावित



जुम्ला, फागुुन २५ । कर्णाली प्रदेशमा अत्यधिक वर्षासँगै परेको हिउँले कोरोनाविरुद्धको खोप कार्यक्रम प्रभावित बनेको छ। उच्च हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम जारी छ। तल्लो क्षेत्रमा पनि लगातार वर्षा भइरहेकाले खोप लगाउन सकिएको छैन।

कर्णालीका जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालिकोट जिल्लाका गाउँमा खोप पुर्‍याउनै समस्या भइरहेको छ। गाउँगाउँसम्म मोटरबाटो नजोडिएको र बोकाएर लानुपर्ने भएकाले समयमै खोप लगाउन नसकिएको हो। कर्णाली करिडोर क्षेत्रमा भने खोप लगाउने कार्यक्रम चलिरहेको छ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयमा आइतबार सुरु भएको खोप कार्यक्रम अवरुद्ध भएको जनाइएको छ। आइतबार रातिबाटै हिउँ र वर्षा भएर अत्यधिक चिसो बढेकाले खोप कार्यक्रम प्रभावित भएको हो। निर्देशनालयका अनुसार हिउँ परेपछि हुम्ला, माथिल्लो मुगु र माथिल्लो डोल्पामा खोप लगाउने कार्यक्रम रोकिएको छ।

निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले प्रदेशका हिमाली जिल्लाका माथिल्लो भेगमा हिमपात हुँदा खोप कार्यक्रम हुन नसकेकोे बताए। ‘हिमपात रोकिएको खण्डमा बुधबारदेखि सुरु गर्छौं,’ उनले भने। पहिलो दिन कर्णाली प्रदेशका १४ हजार ५६ जनाले खोप लगाएका छन्।

आठ स्थानीय तहबाट भने अझै रिपोर्ट आउन नसकेको चौधरीले बताए। कर्णालीका १० जिल्लामा २ सय ८८ खोप केन्द्र तोकेर कोरोनाविरुद्धको खोप लगाउने काम भइरहेको हो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot