Logo

आफ्नै नेतृत्वमा सरकार बनाउनेगरि देउवाको गृहकार्य, प्रचण्ड र बाबुरामको ‘ग्रिन-सिग्नल’



काठमाडौं, २५ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब आफ्नै नेतृत्वमा सरकार बनाउनेगरि गृहकार्य थालेका छन् । हिजोबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग हुने निर्णय गरेसँगै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर आफ्नै नेतृत्वमा सरकार बनाउनेगरि पहल गरेका छन् । यसअघि पनि प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन जुटेका देउवा नेकपाको आधिकारिक विभाजनको लागि पखाईमा थिए ।

तर, सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग हुने निर्णय गरेपछि देउवाले परिस्थिति आफू अनुकुल रहेको आँकलन गर्दै आफ्नै नेतृत्वमा सरकार बनाउन गृहकार्य थालेका छन् । यसको लागि उनले आफूनिकटका नेताहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताहरुसँग परामर्श गर्न खटाएका छन् ।

स्रोतकाअनुसार देउवाले कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालको संयुक्त सरकार बनाउने गृहकार्य गरेका छन् । संसदको अंक गणितको कुरा गर्दा नेपाली कांग्रेसको पक्षमा ६१ सांसद छन् । र, नेकपा माओवादी केन्द्रको ५३ जना छन् । तर, ओली सरकारमा मन्त्री बनेकाहरु माओवादी केन्द्रमा फर्किने वा नफर्किने कुनै टुँगो लागेको छैन् । उनीहरु नफर्किएपनि माओवादी केन्द्रसँग ४८ सांसद हुने आँकलन गरिएको छ । उता, जनता समाजवादी पार्टी, नेपालका ३२ जना सांसद छन् । कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त गठबन्धन बन्यो भने १४१ सांसद संख्या पुग्छ। यो संख्याले बहुमतको सरकार बनाउन पुग्छ। बहुमतको सरकार बनाउन संसदमा १३८ जना सांसद चाहिन्छ।

स्रोतकाअनुसार प्रधानमन्त्री ओलीलाई विस्थापित गरेर देउवाको नेतृत्वमा सरकार बनाउनको लागि प्रचण्ड सहमत छन् । उता, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पनि सहमत रहेको बुझिएको छ । देउवाको नेतृत्वमा सरकार बनाउनको प्रचण्ड र बाबुरामले ग्रिन सिग्नल दिएको बुझिएको छ । संसद् बैठक भोलि दिउँसो १ बजे बस्दैछ ।

 



प्रतिक्रिया दिनुहोस्