काठमाडौं, २५ फागुन । नेकपा (माओवादी केन्द्र) बाट मन्त्री बनेकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने भएका छन् । माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानीमन्त्री मणिचन्द्र थापा, श्रममन्त्री गौरिशंकर चौधरी, सहरी विकासमन्त्री प्रभु साह र युवा तथा खेलकुदमन्त्री दाबा लामा छन् । यीमध्ये खानेपानी मन्त्री थापा र लामा सांसद छैनन् ।
खानेपानीमन्त्री थापाकाअनुसार उनीहरुले आजमात्रै प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए । सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएका छन् । यो निर्णयसँगै माधव कुमार नेपाल र झलनाथ खनालहरु एमालेमा फर्किसकेका छन् । अब माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुले के गर्ने ? भन्ने अन्यौलता थियो । तर, प्रधानमन्त्री ओलीसँगको छलफलमा उनीहरुले बरु सांसद पद माया मार्ने तर ओलीको साथ नछोड्ने निश्कर्ष निकालेका छन् ।
माओवादी केन्द्रले पनि उनीहरुलाई कारबाही गर्नेसम्मको तयारी गरेको छ । त्यसको लागि आज अपरान्ह १ बजे माओवादी केन्द्रले बैठक बोलाएको छ । आजको बैठकले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन समेत फिर्ता लिने भएको छ ।