Logo

जब तपस्वीले राजकुमारीलाई विवाह गरे



  • सद्‌गुरु

योग-परम्परामा एउटा सुन्दर कथा छ । आदियोगी शिव र पार्वतीको विवाह भव्य रूपमा आयोजना गर्न लागिएको थियो । पार्वती एक राजकुमारी थिइन्, त्यसैले त्यस क्षेत्रका सबै आफन्त, नातेदार र मान्यजनहरू आमन्त्रित थिए- राजाहरू, रानीहरू, देवी-देवताहरू सबै जना पूरै सजिएर झकिझकाउ भएर उपस्थित भएका थिए, जहाँ एकभन्दा अर्को बढी सुन्दर देखिन्थे ।

त्यसपछि, वरको आगमन भयो- शिव आफ्नो लट्टा र जटा फिजाउँदै, शिरदेखि पैतालासम्म खरानी धसेर, रगत चुहिँदै गरेको हात्तीको ताजा छाला ओढेर त्यहाँ उपस्थित भएका थिए । उनी नशाले पूरै मदमत्त थिए अनि परमानन्दमा चुर्लुम्म डुबेका थिए । उनका साथीसङ्गीहरू सबै विक्षिप्त र विकृत प्राणीहरू थिए- मान्छेको रूप होइन ! उनीहरू सबैजना आफू-आफूमा अनेक प्रकारका आवाजहरूमा हल्लाखल्ला गरिरहेका थिए । उनीहरू यस्तो भाषामा बोलिरहेका थिए, जुन अरू कसैले बुझ्न सक्दैनथे ।

पार्वतीकी माता मीनाले वरलाई हेरिन् अनि बेहोश भइन् । पार्वती शिव भएतिर गइन् र अनुरोध गरिन्, ‘तपाईं जस्तो हुनुहुन्छ, त्यसमा मलाई कुनै आपत्ति छैन । मलाई केवल तपाईं चाहिएको हो- तपाईं जस्तो हुनुहुन्छ, त्यही चाहिएको हो । तर कम्तीमा पनि मेरी माताको निम्ति कृपया अलिकति मोहक रूपमा प्रस्तुत भइदिनु होस् ।’

शिवले एकदमै सुन्दर रूप धारण गरे । आफूलाई सुन्दर वस्त्रहरूले सुशोभित गरे र उनी फेरि विवाहस्थलमा आए । जब अरू मानिसहरूले उनलाई यो रूपान्तरित स्वरूपमा देखे, उनीहरूले शिवलाई सुन्दरमूर्ति भनेर बोलाए । उनी सबैभन्दा सुन्दर पुरुष थिए, अरूहरूले त्यति सुन्दर पुरुष पहिला कहिल्यै देखेका थिएनन् । उनी नौ फिट अग्ला थिए । यस्तो भनिन्छ कि जब उनी उभिए, उनको उचाइ घोडाको टाउकोसम्म पुगेको थियो । साथै, यो पनि भनिन्छ कि जब उनी दक्षिण भारतमा आए, त्यहाँका महिलाहरूको औसत उचाइभन्दा उनको उचाइ दोब्बर थियो ।

साधारणतया त्यहाँका महिलाहरूको उचाइ साढे चार फिट जति हुने गर्थ्यो । उनी लगभग नौ फिट अग्ला थिए- सबैभन्दा सुन्दर पुरुष, जसको उपस्थितिले हरेक कोही अक्क न बक्क परेका थिए ।

शिव विवाहका लागि बसे । हाम्रो संस्कृतिमा। विशेषगरी यस प्रकारको विवाहमा, वर-वधुको पूर्वजहरूका नाम निकै गर्वले उल्लेख गरिन्छ । उनीहरू आफ्नो कुलको बारेमा बताउँछन्, उनीहरू कहाँबाट आएका हुन् र उनीहरूको रगत कति पवित्र छ जस्ता कुराहरू बताउँछन्, अनि परिवारको पूरै हाँगाबिँगा खोतल्छन् ।

वधुको सन्दर्भमा, पार्वतीका पिता हिमावत हिमालय पर्वतका राजा थिए । वधुको वंशावलीको बारेमा गौरवान्वित हुने थुप्रै कुराहरू बताइए । त्यसपछि, उनीहरूले सोधे, ‘वरको वंशको बारेमा नि ?’

शिव यत्तिकै चुप बसे, मौन रहिरहे । उनी केही बोलेनन् । उनीसँग आएका मित्रगणहरूमध्ये कसैले पनि बुझ्न सकिने भाषा बोल्न सक्दैनथे । उनीहरू कर्कश ध्वनिमा होहल्ला मच्चाइरहेका थिए । बधुको पिताले यसबाट अपमानित महसुस गर्दै भने, ‘पूर्वज नै नभएको यस्तो मानिसले कसरी मेरी छोरीसँग विवाह गर्न सक्छ ? ऊ कहाँबाट आएको हो ? उसको माता-पिता को हुन् ? उसको वंश के हो भन्नेबारे कसैलाई पनि थाहा छैन । म यस्तो मान्छेलाई आफ्नी छोरी कसरी सुम्पिन सक्छु र ?’ उनी रिसले आगो भए ।

त्यसैबेला, विवाहमा पाहुनाका रूपमा आएका ऋषिमुनि नारद एकतारे (एउटा मात्रै तार भएको बाजा) लिएर अगाडि गए । उनले एकतारा बजाए, ट्याङ, ट्याङ, ट्याङ । राजा अझ आक्रोशित भए । ‘तपाईं केका लागि एकतारे बजाइरहनुभएको छ ?’

नारदले भने, ‘यही उनको वंश हो । शिवका न त पिता छन्, न त माता नै छिन् ।’

‘त्यसो भए उसको उत्पत्तिको आधार के हो ?’

ट्याङ… ध्वनि वा कम्पन नै शिवको अस्तित्वको आधार हो । उनी कम्पन वा स्पन्दनमार्फत जन्मिएका हुन् । उनका माता-पिता छैनन्, पूर्वजहरू छैनन्, वंशजहरू छैनन् । उनी स्वयम्भू हुन्- आफैँ सृजित भएका, यस्तो अस्तित्व जसको अतीत छैन ।’

राजा यो सुनेर पागल जस्तै भए- यद्यपि जसोतसो विवाह सम्पन्न भयो !

यो कथाले हामीलाई के स्मरण गराइरहेको छ भने जब हामी आदियोगी शिवको बारेमा कुरा गर्छौं, हामी कुनै भद्र र सभ्य मानिसको बारेमा कुरा गरिरहेका छैनौं, बरु एउटा आदिम स्वरूपको कुरा गरिरहेका छौँ, जसले पूर्ण रूपमा जीवनसँग एकत्व अनुभव गरेका थिए । शिव विशुद्ध चेतना हुन्, रत्तीभर ढोँग नभएका, कहिल्यै नदोहोरिने, सधैँ स्वतःस्फूर्त प्रकट हुने, सदैव मौलिक, निरन्तर सृजनशील- उनी मूल जीवन हुन् ।

यही चीज आध्यात्मिक प्रक्रियाको आधारभूत आवश्यकता हो । यदि तपाईं यहाँ आफ्ना विचारहरू, विश्वासहरू र धारणाहरू बोकेर रहनुभयो अर्थात् बाहिरबाट सङ्गृहीत स्मृतिको थुप्रोको रूपमा रहनुभयो भने तपाईं मनोवैज्ञानिक प्रक्रियाहरूको दास बन्नुहुन्छ । तर तपाईं यहाँ केवल जीवनको अंशको रूपमा रहनुभयो भने तपाईं अस्तित्वगत प्रक्रियासँग एक बन्नुहुन्छ । यदि तपाईं इच्छुक हुनुहुन्छ भने, तपाईं पूरै ब्रम्हाण्डलाई अनुभूति गर्न सक्नुहुन्छ ।

जीवनले तपाईंको निम्ति सबैथोक खुला छोडिदिएको छ । अस्तित्वले कसैका लागि केही पनि छेकेको छैन । भनिन्छ कि ‘ढकढक्याऊ र यो खुल्नेछ ।’ तपाईंले त ढकढक समेत गर्नुपर्दैन, किनकि वास्तवमा त्यहाँ कुनै ढोका नै छैन । यदि तपाईंले स्मृति र पुनरावृत्तिले गाँजिएको जीवनलाई एकातिर राख्न (बेवास्ता गर्न) जान्नुभयो भने तपाईं सरासर हिँड्न सक्नुहुन्छ । बुद्धत्त्व वा आत्मज्ञानको बाटो पूरै खुला छ ।



प्रतिक्रिया दिनुहोस्