काठमाडौं, २५ फागुन । लाइफ इन्स्योरेन्स कर्पोरेशन कम्पनीको साधारण सभा सम्पन्न भएको छ । १८औं वार्षिक सभा एलआईसी शिक्षालय हल नक्सालमा कोरोनाको जोखिमलाई मध्यनजर गर्दै जुम मार्फत सम्पन्न भएको कम्पनीले जनाएको छ ।
कम्पनीले १८ औं सभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ। प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्ने भएको कम्पनीले जनाएको छ ।
सभाबाट लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५/ ७६ को वासलात, आय व्यय हिसाव र सोही अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी पारिद भएको छ । त्यस्तै, लेखा परिक्षण समितिको रिफारिस बमोजिम आर्थिक वर्ष २०७६ /७७ को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने एजेण्डा समेत पारित गरेको जनाएको छ ।
कम्पनीको अनुसार सभाले सर्वसाधरण शेयरधनीतर्फ १ जना संचालक निर्वाचन गरेको छ। साथै संस्थापक शेयरधनीको तर्फबाट नियुक्त संचालकको नियुक्तीलाई अनुमोदन गर्ने, पूँजी बृद्धि सम्बन्धमा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने सन्दर्भमा नियमनकारी निकायहरुले आवश्यक बुझाव वा निर्देशन दिएमा सो अनुरुप समायोजन गर्न संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने लगायतका विभिन्न प्रस्ताव पारित गरेको छ ।