काठमाडौं, फागुन २६ । नेपाल सरकारले बंगलादेशबाट ‘जीटुजी’ प्रक्रियामार्फत किनेको ५० हजार मेट्रिकटन (मेटन) युरिया मलमध्ये २५ सय मेटन मल वीरगञ्ज आइपुगेको छ ।
पहिलो लटमा बंगलादेश सरकारले नेपाललाई उपलब्ध गराएको २२ हजार ५ सय मेटन युरिया मल १ साताअघि मात्रै कोलकाता बन्दरगाहमा आइपुगेको थियो । यसमध्ये २५ सय मेटन मल मंगलवार बेलुका वीरगञ्ज आइपुगको कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले जानकारी दिए ।
उनका अनुसार मंगलवार नै विराटनगर नाकाबाट समेत ६ ओटा ट्रकमार्फत २ सय मेटन मल विराटनगर आएको छ । विभिन्न चरणमा भित्रिरहेको मल अबको केही दिनमै कृषि सामग्रीका विभिन्न केन्द्रमा विक्रीका लागि पठाइनेछ ।
बंगलादेश सरकारले मल ढुवानीकर्ता कम्पनी जेन ट्रेड एफजेडएफलाई तीन चरणमा मल उपलब्ध गराउने भएको छ । त्यसमध्ये पहिलो चरणमा कोलकाता आइपुगेको २२ हजार ५ सय मेटन मलमध्ये २५ सय मेटन नेपाल आइसकेको छ । दोस्रो चरणको १० हजार मेटन मलको आयात प्रक्रिया शुरू भइसकेको र तेस्रो चरणको १७ हजार ५ सय मेटन मल मार्च १५ तारीख पछि मात्रै आयात हुने बताइएको छ ।
कृषि सामग्रीले बंगलादेशबाट किनेर ल्याउन लागेको बाहेक अरू १० हजार मेटन डीएपी मल कोलकाता बन्दरगाह आइपुगेको छ भने १० हजार मेटन डीएपीसमेत बाटोमा रहेको कम्पनीले बताएको छ । कम्पनीसँग यति बेला ३८ हजार मेटन डीएपी, १० हजार मेटन युरिया र ६ हजार ५ सय मेटन पोटास मौज्दात रहेको छ । आर्थिक अभियान दैनिकबाट