Logo

ओली नै केही समय सत्तामा, प्रधानमन्त्रीको दौड लामो दूरीको हुने



काठमाडौं, २६ फागुन । प्रमुख राजनीतिक दलहरुबीच सत्ता समिकरण नमिल्दा प्रधानमन्त्री केपी शर्मा ओली केही समय अझै सत्तामा रहने निश्चितप्रायः भएको छ । माओवादी केन्द्रले अझै ओलीलाई दिइआएको समर्थन फिर्ता लिएको छैन । उसले फिर्ता लिनुअघि सत्ता समिकरणको टुंगो लगाउन खोजेको छ ।

नेकपा एमालेका अध्यक्ष रहेका प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्रले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । यसबाट उनी कम्तिमा एक महिना सत्तामै रहने निश्चित छ ।

अहिलेसम्म प्रमुख दलहरुले सत्ता समिकरणको टुंगो लगाउन सकेका छैनन् । ओली जनता समाजवादी पार्टीलाई साथमा लिएर सत्ता जोगाउने रणनीतिमा पुगेका छन् । तर, जसपाको पनि आफ्नो दाबी छ ।

ओलीबाहेकको सरकार बनाउन नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिल्नुपर्छ । तर, ती दलबाट को प्रधानमन्त्रीको उम्मेदवार हुने भन्ने प्रश्न उठ्न सक्छ । काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका नेताहरु महन्थ ठाकुर र डा. बाबुराम भट्टराई प्रधानमन्त्रीको दौडमा छन् । प्रचण्ड, देउवा या बाबुराममध्येबाट एकलाई साथ दिन तयार छन् । तर, काँग्रेस र जसपाबीच कुरा मिल्न सकेको छैन ।

जसपाभित्र पनि महन्थ ठाकुर र उपेन्द्र यादव-बाबुराम भट्टराईबीच कुरा मिल्न कठिन छ । यी दुई अलग धारमा हिंड्न थालिसकेका छन् ।
ओलीइतरको समूहबीच सत्ताको संघर्षले फेरि राजनीतिले नयाँ मोड लिन सक्छ । यसबाट ओलीलाई नै फाइदा हुने देखिन्छ । जसका कारण प्रधानमन्त्रीका लागि लामो दूरीको दौड चल्ने सम्भावना बढेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot