काठमाडौँ २६ फागुन। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सूचीकृत ८ वटा निर्जीवन बीमा कम्पनीले मात्रै लाभांश गरेका हुन्।नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीहरुले मध्ये शिखर इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सले मात्रै लाभांश प्रस्ताव गरेका छन्।
त्यस अनुसार हालसम्म नेको इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, सानिमा जनरल, जनरल इन्स्योरेन्सको अझै लाभांश आउन बाँकि छ।
हालसम्म लाभांश प्रस्ताव गरेको कम्पनीहरुमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै २९.२३१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीले २७.७६९ प्रतिशत बोनस र १.४६२ प्रतिशत नगद गरी सो बराबरको लाभांश प्रस्ताव गरेको छ। लाभांश प्रयोजनको लागि कम्पनीले फागुन २६ गते बुक क्लोज पनि गरिसकेको छ। त्यस अनुसार फागुन २५ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश पाउनेछन्।
यस्तै, प्रिमियर इन्स्योरेन्सले ११.०५ प्रतिशत नगद लाभांश, प्रभु इन्स्योरेन्सले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत, नेपाल इन्स्योरेन्सले ८ प्रतिशत बोनस र २ प्रतिशत नगद गरी १० प्रतिशत, एभरेष्ट र प्रुडेन्सियल इन्स्योरेन्सले बराबर ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद गरी ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
आइएमई जनरल इन्स्योरेन्सले ७ प्रतिशत बोनस र ०.३७ प्रतिशत गरी ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। सबैभन्दा कम हिमालयन जनरल इन्स्योरेन्सले ३ प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद गरी ६.७५ प्रतिशत मात्रै लाभांश प्रस्ताव गरेको छ।-मेरोलगानी