Logo

प्रधानमन्त्रीका लागि मैदानमा नेताहरु, ‘सडन डेथ’ मा कस्ले गोल गर्ला ?



काठमाडौं, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइआएको समर्थन माओवादी केन्द्रले अझै फिर्ता लिएको छैन । समर्थन फिर्ता लिनेवित्तिकै नयाँ राजनीतिक घटनाक्रम विकास भइहाल्छ । ओलीले तत्काल कुनै एक दलको साथ लिएर विश्वासको मत लिने प्रक्रिया थाल्नेछन् । विश्वासको मत लिए उनी फेरि एक वर्ष ढुक्कले सरकारमा रहन पाउनेछन् । यही बुझेर माओवादी केन्द्र गृहकार्यसहित अगाडि बढ्न खोजिरहेको छ ।

अबको एक महिना ओलीलाई कुनै धक्का नदिने रणनीति पनि देखिएको छ । तर, भित्र भित्र खिचडी पाकिरहेकाले प्रधानमन्त्रीको खेलमा कुनै न कुनै खेलाडीले सडन डेथ मा गोल गर्न सक्छ । खेल चलिरहेको छ र अकस्मात् कुनैपनि बेला कुनैपनि नेताले रोचक गोल गर्न सक्छ । त्यसको भित्री अभ्यास चलिरहेको छ ।

अहिले प्रधानमन्त्रीका लागि गोल गर्न झण्डै एक दर्जन नेता र स्वतन्त्र व्यक्तिहरु मैदानमा छन् । तर, मैदान बाहिर भएकाहरु पनि प्रवेश गरी गोल गर्ने सम्भावना नभएको होइन ।

प्रधानमन्त्री केपी शर्मा ओली आफै गोल गर्न तम्सिएका छन् । उनले जनता समाजवादी पार्टीको साथ लिएर गोल गर्ने अवसर खोजिरहेका छन् । जसपाको एउटा गुटलाई साथमा लिएर भएपनि प्रधानमन्त्रीमा रहिरहने ओलीको रणनीति देखिइसकेको छ । त्यसका लागि उनले महन्थ ठाकुर र राजेन्द्र महतोसँग छलफल गरिसकेका छन् ।

मैदानमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि छन् । उनका लागि सुन्दर गोल गर्ने अवसर छ । तर, देउवा पर्ख र हेरको रणनीतिमा छन् । उनी ओलीसँग मिलेर जाने सम्भावना कमजोर छ । तर, सम्भावना समाप्त भएको भने छैन । देउवालाई प्रचण्डले प्रधानमन्त्रीमा साथ दिने प्रस्ताव गरिसकेको बुझिन्छ । तर, जसपाबाट ग्रीन सिग्नल आएकौ छैन । काँग्रेसभित्रै देउवाको विकल्पमा प्रकाशमान सिंह अगाडि बढ्न खोजिरहेका छन् । उनले दाबेदारी प्रस्तुत गर्दै आएका छन् ।

जनता समाजवादी पार्टीका नेताहरु महन्थ ठाकुर र डा. बाबुराम भट्टराई पनि प्रधानमन्त्रीको दौडमा छन् । नेकपाको दुवै समूह र नेपाली काँग्रेसबीच प्रधानमन्त्रीका लागि हानथाप भएमा ठाकुर र भट्टराईको सम्भावना बढ्न सक्छ । ठाकुरको नाममा काँग्रेस पनि सकारात्मक बन्न सक्छ । बाबुरामलाई प्रचण्डको साथ देखिन्छ । तर, देउवा सकारात्मक देखिएका छैनन् । देउवाको साथ मिलेमा उनी प्रधानमन्त्री बन्ने सम्भावना बलियो छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि मैदानमा छन् । तर, उनी आफै प्रधानमन्त्री बन्ने भन्दा पनि कसैलाई साथ दिएर ओलीलाई धक्का दिने रणनीतिमा छन् । प्रचण्डको रोजाईमा देउवा या बाबुराम देखिन्छन् । दुवैलाई सहमत गराउन उनले छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन ।

ओलीले आफू सत्ताबाट हट्नुपरेमा सबैलाई छक्क पार्दै माधवकुमार नेपाललाई अगाडि बढाएमा आश्चर्य नमाने हुन्छ । ओली छक्क पार्ने निर्णय गर्दै आएका छन् । बामदेव गौतम एमालेकै नेतृत्वको सरकारको पक्षमा छन् । माधव नेपाल प्रधानमन्त्री बन्ने अवस्थामा प्रचण्ड पनि सकारात्मक हुन सक्छन् ।

देश फेरि चाँडै चुनावमा जाने अवस्था पनि बन्न सक्छ । नेताहरुबीच कुरा नमिल्दा अस्थिरताको खतरा बढ्न नदिन संविधानसम्मत तरिकाले ताजा जनादेशमा जाने बाटो समेत बन्न सक्छ । त्यतिबेला मैदानमा गैरराजनीतिक खेलाडी छिर्न सक्छ । विगतमा खिलराज रेग्मी प्रधानन्यायधीशका रुपमा चुनावी सरकारको अध्यक्ष बनेका थिए । नेताहरुले एकले अर्कोलाई स्वीकार्न नसक्दा रेग्मीलाई चुनावी सरकारको अध्यक्षको अवसर मिलेको थियो ।

यसपटक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई रेग्मीलाई जस्तै अवसर नमिल्ला भन्न सकिदैन । प्रतिनिधि सभा पुनःस्थापनामा उनको नेतृत्वको इजलासले गरेको फैसलाले लोकप्रीय बनाएको छ । उनी चुनावी सरकारको नेतृत्वका लागि सर्वसम्मत बन्ने बलियो सम्भावना यसकारण पनि छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot