Logo

सेनालाई प्रोभोक गर्न खोज्ने प्रवृत्तिः प्रधानमन्त्री ओली



काठमाडौं, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई विवादमा तान्न खोज्ने वा उत्तेजित पार्न खोज्ने प्रवृत्तिहरु देखिएको बताएका छन् । उनले सेनालाई विवादमा घिसार्ने काम अनुचित भएको समेत बताए ।

राष्ट्रिय सुरक्षा परिषदको २० औं वार्षिक उत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै ओलीले भने, ‘आफ्ना संकिर्ण स्वार्थका लागि नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्न खोज्ने, अपमान वा प्रोभोक गर्न खोज्ने लगायत विभिन्न खालमा प्रवृत्तिहरु देखिन्छ’ ।
ओलीले नेपाली जनताको चेतनालाई समय समयमा अलमल्याउन खोज्ने, भ्रममा हाल्न खोज्ने प्रयास समेत हुने गरेको बताउँदै त्यस्ता प्रयासहरुसँग सतर्क हुनुपर्ने, विचार पनि व्यक्त गरे ।

विगत दुई दशकमा सुरक्षा परिषदले आफ्ना सैद्धान्तिक, नीतिगत पक्षमा स्पष्टता र व्यवहारिक अनुभव पनि हासिल गर्दै गएको भनाई पनि ओलीको थियो । ‘ती अभ्यास र अनुभवहरुले देशलाई सुरक्षा नीतिसम्बन्धी अन्योलको स्थितिबाट बहुतै स्पष्टताको स्थितिमा पुर्याएको पनि बताए । ‘ठूलो होस् कि सानो । बलियो होस् कि कमजोर । सबै देशले आफ्ना सन्य शक्ति प्रभाव विस्तारमा नभइ न्यायोचित हकको रक्षामा प्रयोग गर्नु पर्दछ भन्ने हामी ठान्दछौ’, ओलीले बताए ।

नेपाल विश्वव्यापी र सार्वकालिक ढंगले सही सिद्धान्तमा र सही नीति र सही व्यवहारमा रहेको पनि प्रधानमन्त्रीले बताए । ‘हामी हाम्रो प्रतिरक्षा र हाम्रो सुरक्षा, सबै कुरालाई शक्तिको आडमा होइन न्यायको आडमा , सत्यको आडमा स्थापित गर्न चाहन्छौं र गछौं’, उनले भने । त्यसै हिसाबले हाम्रो प्रतिरक्षा र राष्ट्रिय सुरक्षा नीति बन्नु पर्नेमा जोड दिए ।

नेपाली सेना सहित राज्यका सबै अवयवहरुको समुचित प्रयोग कस्तो कस्तो परिस्थिति कुन कुन ढंगले गर्न सकिन्छ भन्ने कुरामा सुरक्षा परिषदले गृहकार्य गर्न सक्ने पनि बताए । नेपाली सेनाले आपतकालिन उद्धार र प्रकोप व्यवस्थापनमार्फत जनसेवा, विकास निर्माण र सुरक्षाजन्य गरी तीनै वटै प्रकृतिका कामहरुलाई कसरी समूचित ढंगले र व्यवस्थिति ढंगले अगाडी लान सक्छ भन्ने कुरामा अध्ययन अनुसन्धान र नीति निर्माणको काम गरिनुपर्ने धारणा पनि प्रधानमन्त्रीको थियो ।

गौरवपूर्ण इतिहास रहेको नेपाली सेनाले अहिले विदेशका विभिन्न भागमा शान्ति स्थापनार्थ आफूलाई जोखिममा राखेर काम गरेको बताउँदै प्रधानमन्त्री ओलीले कतै मानविय कमजोरी यसबीचमा भए त्यस्ता कुरा हेर्ने अलग निकाय रहेको समेत उल्लेख गरे ।

राष्ट्रिय सुरक्षा परिषद स्थापना भएको समय मुलुकमा हिंसाको ग्राफ बढदो क्रममा रहेको स्मरण गराउँर्दै प्रधानमन्त्रीले अहिले आइपुग्दा मुलुकमा पूर्ण शान्ति कायम भएको समेत बताए । गत वर्ष विखण्डनवादी सोचका साथ गतिविधि गरिरहेको समूहलाई र हालै मात्र सशस्त्र राजनीतिक गतिविधिको कार्यक्रम लिएर हिँडेको समूहलाई राष्ट्रिय राजनीतिको मुलधारमा आउनु परिषदका लागि समेत सुखद पक्ष भएको पनि प्रधानमन्त्रीले उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot