Logo

एमाले–जसपा छलफलः माग सम्बोधनमा प्रधानमन्त्री सकारात्मक



काठमाडौं, फागुन २८ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा) शीर्ष नेताबीच सत्ता सहकार्यका विषयमा भएको छलफल सकारात्मक मोडतर्फ अघि बढेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष नेताहरूबीचको छलफल सकारात्मक रहेको नेताले बताएका छन् ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष जसपा नेताहरूले आफ्ना माग राखेका थिए । जसपा नेताहरूको माग सम्बोधन गर्ने विषयमा प्रधानमन्त्री सकारात्मक रहेको र दुवै पक्षबीचको संयुक्त बैठक पुनः शुक्रबार बस्ने बताइएको छ ।

जसपा कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले जसपाले उठाउँदै आएका मुद्दा नै सम्बोधन गर्ने गरी छलफलमा विषय उठान गरिएको बताए । जसपाले संविधान संशोधन, जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, नागरिकता विधेयकलगायतका विषय उठाउँदै आएको छ ।

यस्तै लाल आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसमेत जसपाले गर्दै आएको छ । यही माग छलफलमा उठाइएको र आफ्नो मागबारे प्रधानमन्त्री सकारात्मक रहेको कर्णले बताए

छलफलमा प्रधानमन्त्री ओली, महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, उपमहासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई तथा जसपा तर्फबाट अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेताद्वय राजेन्द्र महतो, अशोक राई, कर्णलगायतका नेता छलफलमा सहभागी थिए ।

जसपाले कर्णको नेतृत्वमा वार्ता गर्ने गरी सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको कार्यदल बनाएको छ । यस्तै, एमालेले संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव पौडेल, सल्लाहकार भट्टराईसहितको कार्यदल बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्