Logo

एमाले–जसपा वार्ताः मिलेर अघि बढ्न प्रधानमन्त्रीको प्रस्ताव



काठमाडौं, फागुन २८ । नेकपा एमालेको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीलाई सत्तामा सहकार्यका लागि प्रस्ताव गरेका छन्। एमाले र माओवादी केन्द्रबीचको एकीकरण बदर भएपछि सरकार अल्पमतमा पर्ने सम्भावना देखेका प्रधानमन्त्री ओलीले बिहीबार जसपाका नेताहरूलाई सरकारी निवास बालुवाटारमा भेटेर सत्ता सहकार्यका लागि प्रस्ताव गरेका हुन्।

‘प्रधानमन्त्रीले मिलेर जाऔं, तपाईंहरूका समस्या केके छन्, तिनीहरूलाई सम्बोधन कसरी गर्न सकिन्छ, प्रक्रियागत ढंगबाट छलफल गरौं भनी प्रस्ताव राख्नुभएको छ,’ भेटमा सहभागी नेता अशोक राईले भने, ‘उहाँको आशय सत्तासाझेदारी गरौं भन्ने हुन सक्छ।’

आफूहरूले उठाएका माग पूरा गर्न प्रधानमन्त्री सकारात्मक देखिएको जसपाका नेताहरूले बताएका छन्। ‘नयाँ परिप्रेक्ष्यमा तपाईंहरूको धारणा के छ भनी प्रधानमन्त्रीले जिज्ञासा राख्नुभयो। हामीले प्रस्ट पा¥यौं’, राईले भने। उनका अनुसार जसपाका नेताले आफ्ना माग सम्बोधन भएमा मिलेर जान सकिने धारणा राखेका थिए। ‘हाम्रा माग पूरा भए मिलेर जान सक्छौं भन्यौं तर उधारोमा सहमति हुँदैन भन्ने हाम्रो अडान रह्यो’, राईले भने।

प्रधानमन्त्रीसँग भेट गर्नुअघि जसपाका शीर्ष नेताले आन्तरिक छलफल गरेका थिए। छलफलपछि बाबुराम भट्टराई, महन्थ ठाकुर,उपेन्द्र यादव, राई र राजेन्द्र महतो बालुवाटार पुगेका थिए। यसअघि प्रधानमन्त्रीसँग जसपाका अध्यक्ष ठाकुरले दुईतीनपटक भेट गरिसकेका छन्।

जसपाले उठाएका माग पूरा गर्न प्रधानमन्त्री र जसपाको संयुक्त कार्यदलसमेत बनेको छ। कार्यदलको दुईतीनपटक बैठकसमेत भएको छ। कार्यदलमा भएको छलफल र प्रगतिबारे पनि बालुवाटार बैठकमा कुराकानी भएको जसपा नेताहरूले बताएका छन। स्रोतका अनुसार सत्तासाझेदारी र जसपाले उठाउँदै आएका मागलाई सम्बोधन कसरी गर्ने भन्ने विषयमा छलफल केन्द्रित भएको थियो।

जसपाले रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा खारेजी, घाइतेहरूको उपचार र लाल आयोगका प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै आएको छ। यसैगरी संविधान संशोधनलाई जसपाले प्रमुख अजेन्डा बनाएको छ। दुई पक्षले बनाएको संयुक्त कार्यादलमा संविधान संशोधनको अजेन्डामा समेत गम्भीर छलफल भएको स्रोतले बतायो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्