काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन नगर्ने भएको छ । आज संसदीय दलको बैठक बसेर जसपाले ओलीलाई समर्थन नगर्ने स्पष्ट अडान बनाएको छ । योसँगै जसपाले नेपाली काँग्रेस र माओवादी केन्द्रसँग छलफल बढाएको छ ।
आज संसदीय दलको बैठक बसेर जसपाले नेपाली काँग्रेससँग छलफल गरेको छ । बुढानिलकण्ठमा जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पुगेर सत्ता समिकरणबारे छलफल गरे । विश्वस्त स्रोतका अनुसार जसपाले सरकारको नेतृत्व दाबी गरेको छ ।
आज ठोस सहमति नभएपछि जसपाले माओवादी केन्द्रसँग छलफल गर्ने भएको छ । माओवादी केन्द्रसँग पनि जसपाले सरकारको नेतृत्व दाबी गर्दै छलफल अगाडि बढाउने भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काँग्रेस या जसपा जस्ले सरकारको नेतृत्व लिएपनि ओलीलाई सत्ताबाट हटाउने विषयमा खुल्ला देखिएका छन् ।
काँग्रेसले भने सरकारको नेतृत्वको दाबी गरेको छ । तर, जसपाले संसदीय दलको बैठक बसेर सरकारको नेतृत्वको दाबी गर्ने निर्णय गरेको थियो ।
काँग्रेसभित्र सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्रीका दाबेदार देखिएका छन् । तर, उनलाई प्रकाशमान सिंहले चुनौती दिने देखिएको छ । देउवालाई रोक्न काँग्रेसभित्रैबाट प्रयास हुन थालेको छ ।