भक्तपुर, फागुन २९ । जिल्ला समन्वय समिति भक्तपुरको तेस्रो जिल्ला सभा सम्पन्न भएको छ । जिसस प्रमुख नवराज गेलालको अध्यक्षतामा शुक्रबार सम्पन्न सभाले बाहिरी चक्रपथको भक्तपुर जिल्ला खण्ड अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ ।
काठमाडौँ उपत्यकाको समग्र यातायात र शहरी विकासलाई महत्वपूर्ण योगदान दिने बाहिरी चक्रपथ आयोजनाको भक्तपुर खण्ड अविलम्ब कार्यान्वयन गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरिएको जिसस प्रमुख गेलालले जानकारी दिए। सभाले मेलम्ची खानेपानी आयोजनाबाट निकट भविष्यमा वितरण हुन लागेको खानेपानी भक्तपुर जिल्लाको सबै स्थानीय निकायमा वितरण गर्न सम्बधित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
त्यसैगरी सभाले अनुगमन कार्यविधि २०७५ पहिलो संशोधन स्वीकृत गरेकोे छ भने भक्तपुर जिल्लाको नदी खानी क्षेत्रबाट नदी तथा खानीजन्य पदार्थ उत्खनन, सङ्कलन तथा बिक्रीवितरण प्रक्रियाको अनुगमन, नियमनसम्बन्धी कार्यविधिलाई सभाले अनुमोदन गरेको छ ।
सभाले आव २०७७/०७८ को नीति, कार्यक्रम तथा बजेट स्वीकृत गर्नुका साथै कार्यालयमा रहेका जिन्सी मालसामान मिनाहा र लिलामका लागि नियमानुसार प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ ।
विभिन्न समयदेखि रहेको बेरुजुलाई नियमानुसार नियमित गर्ने, विभिन्न स्थानीय तह, सामाजिक संस्था र वडा कार्यालयलाई हस्तान्तरण भएका सामानको अनुमोदन गर्ने र दोस्रो जिल्लासभा पछि भएका कामको अनुमोदन गर्ने निर्णय गरेको छ ।
सभाले आव २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय तह, कार्यालयलगायतसँग समन्वय गर्ने कार्यलाई निरन्तरता गर्दै जाने, पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, सुशासन, क्षमता विकास, खेलकूदको विकासतर्फ नगरपालिकाले ल्याण्डफिल्डको व्यवस्था गर्न जग्गा खोजी गर्ने, प्राकृतिक स्रोतको व्यवस्थापन, अनुगमनलगायतको कार्यक्रम प्रभावकारीरुपमा लैजाने समेत निर्णय गरेको छ । रासस