विराटनगर, १ चैत: खवास समाज परिषद् केन्द्रीय समितिले खवास जातिलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग गरेको छ । परिषद्ले आज यहाँ पत्रकार सम्मेलन गरी नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान २०५८ को तथ्याङ्कमा आदिवासी जनजातिकै सूचीमा खवास जाति छुटेकाले यसलाई सच्याउन आग्रह गरेको हो ।
परिषद्का अगुवा कुमारविक्रम खवास, सन्तलाल खवास, सुरेशकुमार खवास र प्रभागकुमार खवासले खवास जातिले बेग्लै पहिचान बोकेकाले यसको अलग्गै सूचीकरण हुनुपर्ने माग गरे । परिषद्का पूर्वध्यक्ष तिलकचन्द्र चौधरी खवासले २१औँ शताब्दीमा पहिचान मेटाएर आफ्नो अधीनमा गर्न अभिष्ट पूरा गर्न खोज्नु न्यायसम्मत नभएकोे बताए । परिषद्को अध्ययनअनुसार सुनसरी, मोरङ, झापा, धनुषा र केही पश्चिमी जिल्लामा करिव दुईलाख खवास जातिको बसोबास पाइन्छ । राष्ट्रिय जनगणना २०६८ का अनुसार देशभरमा १८ हजार मात्र खवास जाति देखाइएकाले यो सङ्ख्या थारु जातिमा मिसाइएर थारु जातिको सङ्ख्या अधिक देखाइएका विषयमा पनि परिषद्ले आपत्ति जनाएको छ ।-रासस