Logo

प्रचण्ड, नेपाल, खनाल र गौतमको मोर्चा बन्दै, ओलीविरुद्ध आक्रामक रणनीति



काठमाडौं, १ चैत्र । नेकपा एमाले फुटको संघारमा पुगेपछि नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमले मोर्चा कस्ने भएका छन् । एमालेका तीन प्रभावशाली नेताहरु अध्यक्ष केपी शर्मा ओलीविरुद्ध केन्द्रित भएपछि उनीहरुसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झन् नजिकिएका छन् ।

कानुनी रुपमा पार्टी फरक भएपनि प्रचण्ड, नेपाल र खनाल सहकार्यको अवस्थामा छन् । ओलीसँग एकता हुन नसक्ने बताएर आक्रामक बनेका बामदेव गौतम पनि नजिकिएका छन् । अब चार जना नेताको मोर्चा बन्ने भएको छ ।

प्रचण्ड, नेपाल र खनालको अघोषित मोर्चा कायमै छ । अब गौतम पनि त्यसमा थपिने भएका छन् ।

आजै प्रचण्डले नेपाल र खनालसँग कोटेश्वरमा भेटघाट गरेका छन् । भेटमा प्रधानमन्त्री ओलीविरुद्ध आक्रामक बन्नेबारे छलफल केन्द्रित भएको बुझिएको छ ।

ओलीविरुद्ध अविश्वासको प्रस्तावसम्मको तयारी गरेका प्रचण्डले विभिन्न विकल्पमा छलफल बढाएका छन् । उनले काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसँग पनि छलफल गरिसकेका छन् । प्रचण्डले प्रधानमन्त्रीको प्रस्ताव अन्य दलका नेताहरुलाई गरेर भएपनि ओलीलाई सत्ताबाट हटाउने प्रयास जारी राखेका छन् । तर, अझैपनि सफलता हासिल भएको छैन ।



प्रतिक्रिया दिनुहोस्