काठमाडौं, १ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लवले नेपाललाई हिन्दूराष्ट बनाउनुपर्छ भनेर जनमतसंग्रहको माग गरेको कुरा आफूले नसुनेको प्रतिक्रिया दिएका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलाले सोधेको तपाई र विप्लवबीच जनमतसंग्रहमा जाने भित्री सहमति भएको छ अरे भनेर बाहिर चर्चा भएको छ, नेपाललाई हिन्दूराष्ट बनाउने ? यो कत्तिको सही हो ? प्रश्नमा प्रधानमन्त्री ओलीले भने-“नेत्रविक्रम चन्दले हिन्दूराष्टको माग गर्नुभएको छ र ? मैले त सुनेको छैन त त्यस्तो कुरा ।”
पत्रकार धमलाले हिन्दू राष्ट्र बनाउने तपाईको चाहना हो भनेर सोधेको अर्को प्रश्नमा उनले भने-“नेपाल धार्मिक स्वतन्त्रता भएको देश हो । नेपाल सबै जातजाति, भाषा, भाषीहरु आस्था र विश्वासहरु भएका समूदायहरु, विभिन्न पेशा व्यवसाय जनताको साझा देश हो । यसलाई विवादको भूमरीमा पार्न खोज्ने, साम्प्रादायिकतामा तान्न खोज्ने, यो कुराहरु उचित होईन । हामीले साम्प्रादायिक सद्भावका साथ, विविधतामा एकताको नाराको साथ कुनैपनि हिसाबले तनाव बढाउने, कुनै हिसाबले जनताको मनमा ठेस पुर्याउने कुनै हिसाबले काम गर्नुहुँदैन् । यो सबैको साझा देश हो । यस साझा देशलाई सबैले समृद्ध बनाउनुपर्छ । आधुनिक देश बनाउनुपर्छ । यसलाई अत्यन्त शिष्ट, सभ्य र मर्यादित बनाउनुपर्छ । समान अधिकार अवसर भएको, सूरक्षाको सबैलाई प्रत्याभुति भएको, कोही पनि डर, त्रासमा बस्नु नपर्ने, सम्मानित जीवन सबैले बाँच्न पाउने स्थिति भएको देश निर्माण गर्नुपर्छ । सबै मिलेर सबैको लागि । त्यसो भएर समृद्ध नेपाल, सुखी नेपाली को राष्टिय आकांक्षा हामीले तोकेका छौं । त्यसअन्तर्गत हामी जान्छौं । विवादतर्फ होईन् ।”