Logo

नक्कली पुर्जा बनाई जग्गा कुम्ल्याउने दाउ



काठमाडौं, चैत २ । बेल्जियममा रहेका म्याग्दी बरञ्जा–२ की मीना खड्काले चन्द्रागिरि थानकोट–५ स्थित आफ्नो नाममा रहेको एक रोपनी चार आना जग्गा बिक्री गर्ने सोच्नुभएको थिएन । भविष्यमा सोही जग्गामा घर बनाउने र बेल्जियमको बसाइ छोट्याएर स्वदेश फर्किने योजना उनको थियो । सोही योजनाअनुसार नेपाल आउँदा उनी एक पटक आफ्नो जग्गा हेर्न थानकोट पुग्थीन ।

यही क्रममा केही महिनाअघि जग्गा हेर्न पुग्दा सँगैका छिमेकीले ‘यो जग्गा त बिक्री भइसक्यो’ भन्दा उनी छाँगाबाट खसेजस्तै भईन । सुरुमा त विश्वास लागेन भन्दै उनले भनिन्, “जग्गा दर्ता रेकर्डमा अर्कौको फोटो रहेको कुरा कलङ्की मालपोतमा पुगेपछि थाहा भयो । ”

सक्कली जग्गाधनी मीना खड्काको फोटो उप्काएर अर्की महिला (नक्कली मीना खड्का) सिन्धुपाल्चोक ठूलोधादिङ–७ की ४२ वर्षीया लक्ष्मी विकको फोटो टाँसिएको फेला परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार मालपोतका कर्मचारीको मिलेमतोमा उक्त काम भएको हो ।

त्यति मात्र होइन, सो जग्गा पाँच जनालाई बिक्री गरिसकेको रहेछ । प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले कलङ्की मालपोत कार्यालयका अधिकृत दीपक दाहाल, नायब सुब्बा नारायण श्रेष्ठ र खरिदार दीपा पङ्गेनीलगायत तीन कर्मचारी, एक जना लेखापढी र जग्गा दलाल नौ जना गरी १३ जनाको संलग्नता देखिएको बताए ।

वास्तविक जग्गाधनी मीना खड्काको सट्टा नक्कली मीना खड्का (लक्ष्मी घतानी) खडा गरी भक्तपुर मध्यपुर थिमिका कृष्णगोपाल श्रेष्ठ, रत्नकेशरी श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, विजया लक्ष्मी श्रेष्ठ र काभ्रे धुलिखेलका कुमार दाहाल खत्रीलाई बैना बिक्री गरेको अवस्थामा जग्गा फेला परेको हो ।

प्रहरी उपरीक्षक बस्नेतका अनुसार वास्तविक जग्गाधनीले समयमै सूचना दिएकाले घटनामा संलग्न सबै अभियुक्तलाई पक्राउ गरिएको छ । गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्