Logo

बामदेवको संयोजकत्वमा एमालेभित्र ओलीविरुद्ध मोर्चाको तयारी



काठमाडौं, २ चैत्र । तटस्थ बस्दै आएका नेकपा एमालेका प्रभावशाली नेता बामदेव गौतमले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चाको नेतृत्व लिने भएका छन् । उनले ओलीविरुद्धको मोर्चाको नेतृत्व लिने सहमति बनेको हो ।

आइतबार एमाले नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमको संयुक्त बैठक बसेको थियो । उनीहरु गोप्य रुपमा बसेर भावी रणनीति तयार गरेको बुझिएको छ ।

तीन नेताबीचको बैठकमा गौतमलाई ओलीविरोधी मोर्चाको संयोजक रहन प्रस्ताव भएको थियो । त्यसमा गौतम सकारात्मक रहेको बुझिएको छ ।

गौतम संयोजक बनेर एमालेभित्र ओलीको पछिल्लो कदमको सामना गर्नेमा सहमति बनेको छ । ओलीले अध्यक्ष र महासचिवसहित सबै पदाधिकारी खारेज गर्नेलगायतको निर्णयलाई अमान्य भनिसकेको माधव नेपाल समूहले सशक्त रुपमा त्यसको सामना गर्ने रणनीति बनाएको हो ।

विश्वस्त स्रोतका अनुसार एमालेभित्रै सकेसम्म संघर्ष गर्ने नभए विकल्प समेत तयार गरेर कठोर कदम चाल्ने गरी वामदेवलाई संयोजक बनाउन लागिएको हो । ओलीविरुद्ध एकजुट भएका नेताहरुले पार्टी विभाजनसम्मको तयारी गरेको विश्वस्त स्रोतले बताएको छ ।

प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएर भएपनि अगाडि बढ्ने रणनीति नेताहरुले बताएका छन् । त्यसका लागि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताको गृहकार्य समेत भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्