Logo

धुम्बाराहीमा के-के कुरा भयो ? ओली र नेपालले के भने ? रावलले सुनाए ईतिवृत्तान्त (भिडिओसहित)



काठमाडौं, २ चैत्र । नेकपा (एमाले) का डा. भीम बहादुर रावलले आफू पार्टीको नवौं महाधिवेशनबाट अत्यधिक मतबाट विजयी भएकोले कसैले खारेज गरेर पद नजाने स्पष्ट पारेका छन् । तर, आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कुनैपनि पद खारेज नगरेको बरु जिम्मेवारी हेरफेर गरिएको स्पष्ट पारेको रावलले जनाए । आज अपरान्ह प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले भने–‘आज मैले यो कुरा उठाएको थिएँ, उहाँले (हामीले कुनैपनि पद खारेज गरेका छैनौं भन्नुभयो । खाली जिम्मेवारीमात्रै हेरफेर गरेको भन्नुभयो । प्रदिप ज्ञवालीले पनि पदबाट हटाएका छैनौं भन्नुभयो ।’

अदालतको फैसलालगत्तै आफूले नै अब एमालेलाई एकताबद्ध बनाएर लैजानुपर्ने भनेर भनेकोमा त्यतिवेला सकारात्मक जवाफ नपाएको पनि रावलले सुनाए । उनले आफूहरुबीच पानी बाराबारको अवस्था नभएपनि सम्वाद भने टुटेको थियो भन्ने भनाई राखे । उनले आज पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलमा सम्झौता नभएको स्पष्ट पारे । उनले अदालतको फैसलाअनुसार नेकपा एमाले पूर्ववत अवस्थामा पुगिसकेकोले अब फागुन २८ गतेको ओली पक्षको निर्णय कार्यान्वयन नहुने कुरा आजको बैठकमा राखेको पनि सुनाए । फागुन २८ गतेको बैठकबारे आफूहरुलाई जानकारी नभएको पनि उनको भनाई छ । पार्टी अध्यक्षलाई कुनैपनि व्यक्तिलाई पदबाट हटाउने विशेष अधिकार नभएको रावलले स्पष्ट पारे ।

आजको अवस्थामा नेकपा एमाले एकताबद्ध हुनुपर्छ भनेर बैठकमा नेताहरुबाट भावना व्यक्त भएको रावलले जानकारी दिए । वामपन्थीहरुको संयुक्त सरकार बनाएर जानुपर्ने कुरा उपयुक्त भएको भन्ने कुरा पनि आफूहरुले भनाई राखेको उनले सुनाए । आजको बैठकमा दुवै पक्षले आ–आफ्नो अडान राखेको रावलले जनाए । आफूहरु नेकपा एमालेको सिर्जनाकार भएको उल्लेख गर्दै यो पार्टी निर्माणमा रगत, पसिना बगाएको भन्दै पार्टी एकता जोगाउने नै आफूहरुको मुख्य उद्देश्य भएको उनको भनाई छ । वामपन्थीहरुसँग मिलेर जानुपर्छ भन्नेमा नेताहरु सकारात्मक भएको उनले सुनाए ।

हामी सहभागी नभएको बैठक कसरी ठिक हो ? भन्दै उनले फागुन २८ गतेको निर्णय खारेज गर्नुपर्ने आफूहरुको अडान रहेको पनि सुनाए । उनले फागुन २८ गतेको निर्णय त के त्यो बैठक नै नभएको जिकिर गरे । आफूहरुको तर्क न्यायिक, उचित रहेको उनको भनाई छ । उनले आफूहरुबीच सहमति हुने विश्वास दिलाए । त्यही दिशामा छलफल केन्द्रित रहेको पनि उनले जनाए । आजको वार्ताले कति परीणाम ल्याउँछ भनेर भोलिका दिनमा हेर्नुपर्ने रावलको भनाई छ । आफूहरुले तत्काल पार्टीको समस्याको बारेमा कुराकानी गरौं र पछि सरकार र पार्टीको सम्बन्ध के हुने ? भनने विषयमा कुराकानी गरौंला भनेर पनि कुरा राखेको उनले सुनाए ।

 



प्रतिक्रिया दिनुहोस्