Logo

प्रचण्ड र माधव नेपाललाई फेरि फकाउँदै ओली



काठमाडौं, २ चैत्र । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफ्नै दलका नेता माधवकुमार नेपाललाई फकाउन सक्रिय भएका छन् । उनले प्रचण्ड र नेपालसँग आज कुराकानी गरेका छन् ।

नेपालसँग धुम्बाराहीमा मिलेर जानेबारे छलफल गरेका हुन् । एमालेभित्र सहमति बनाउन ओलीले विकल्पसहितको प्रस्ताव गरेको बुझिएको छ । ओलीले प्रधानमन्त्री र अध्यक्ष पद दुवै नछाड्ने शर्तमा कुराकानी गरेको बुझिएको छ । २८ फागुनको निर्णय फिर्ता लिनुपर्ने नेपाल पक्षको अडान थियो । त्यसमा राजनीतिक लेनदेनको विषयबारे कुरा भएको थियो ।

ओलीले आजै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग फोनवार्ता गरेका छन् । ओलीले प्रत्यक्ष भेटेर कुरा गर्ने प्रस्ताव गरेका थिए । तर, प्रचण्डले पार्टीको आन्तरिक बैठक भएकाले पछि कुरा गर्ने जवाफ दिएका थिए ।

५ पौषमा प्रतिनिधि सभा विघटनको कदम चालेपछि ओलीसँग प्रचण्डको कुनै प्रकारको कुराकानी भएको थिएन । दुवैबीच अहिलेसम्म भेटवार्ता भएको छैन । तर, पहिलोपटक आज फोनवार्ताले आइसब्रेक भएको छ ।

पछिल्लो समय एमालेका प्रभावशाली नेता बामदेव गौतमले एमाले र माओवादी केन्द्र मिलाउने सक्रियता बढाइरहँदा ओलीको प्रचण्ड र माधव नेपालसँग कुराकानी भएको हो । गौतम कुनै हालतमा पार्टी एक बनाउने अभियानमा सक्रिय भएका छन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot