Logo

बारा–पर्सा कोरिडोरमा कठिन बन्दै जग्गा प्राप्ति



वीरगञ्ज, चैत ३ । उद्योगी विनय शाहले बारा–पर्सा औद्योगिक कोरिडोरमा नयाँ उद्योग खोल्ने योजना बनाए । उद्योगका लागि जग्गाको खोजीमा लागेका शाहले उद्योग अनुकूलको जग्गा फेला पार्न सकेका छैनन् । जग्गा नभेटिएको भने होइन, जग्गाको मूल्य अति महँगो भएपछि योजना अघि बढ्न सकेको छैन ।

कोरिडोरमा नयाँ उद्योगका लागि जग्गाको प्राप्ति अब चुनौतीपूर्ण भइसकेको छ । ‘१ बिगाहा जग्गा चाहियो भने कम्तीमा ८/१० करोड रुपैयाँ त जग्गामै जाने अवस्था छ । यति महँगोमा जग्गा किनेर उद्योग चलाउनु कठिन काम हो,’ शाहले भने ।

उद्योगी शाहमात्र होइनन्, यो कोरिडोरमा जग्गाको भाउ आकाशिएपछि जग्गामा बढी पूँजी खन्याउनु परेको औसत उद्योगीहरूको गुनासो छ । वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतम बारा–पर्सा कोरिडोरमा नयाँ उद्योगका लागि जग्गा व्यवस्थापन असहज भइसकेको बताउँछन् । त्रिभुवन राजपथको गण्डकदेखि पथलैयासम्म करीब १ हजार सानारठूला उद्योग छन् । बारारपर्सा योजनाबद्ध तरीकाले औद्योगिक कोरिडोरका रूपमा विस्तार भएको होइन । मुख्य नाकासँग जोडिनु र सहज सम्पर्कसहित देशको मध्यभागमा रहनुले एकपछि अर्को उद्योग खुल्दै गएका हुन् ।

कोरिडोरमा उद्योगका लागि उपयुक्त जग्गा फेला पार्नै कठिन भइसकेको छ । मुख्य मार्ग दायाँ–बायाँको जग्गा कट्ठाको १ करोड रुपैयाँभन्दा कममा नपाइने उपाध्यक्ष गौतमको भनाइ छ । ‘भित्री सडकमा समेत कट्ठाको २५र३० लाखमा जग्गा किनबेच भइरहेको छ । जग्गामा महँगो मूल्य हालेर उद्योग चलाउनु अब सहज छैन,’ गौतमले भने ।

जग्गाको महँगो लागतले उद्योगको स्थिर पूँजीमा लगानी बढेको छ । यसको प्रत्यक्ष असर वस्तुको उत्पादन लागतमा जोडिने संघका सचिव अरविन्द्र अमात्य बताउँछन् । सरकारले उत्पादन प्रवर्द्धनको नीति लिनुपर्ने र उत्पादनलाई प्रतिस्पर्धी बनाउन स्थिर पूँजीको लागत घटाइनुपर्ने सुझाव सचिव अमात्यको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्