Logo

खोप लगाउन ज्येष्ठ नागरिकको जाँगर



दमौली, ३ चैत: तनहुँको भीमाद नगरपालिका–९ अस्पाक्दी निवासी ९१ वर्षीया तिलीसरा आले लौरी टेक्दै रिठाभञ्ज्याङमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा पुगे । त्यहाँ रहेको कोरोनाको खोप केन्द्रमा उनलाई स्वास्थ्यकर्मीले ‘कोभिशिल्ड’ लगाइदिए । खोप लगाएपछि स्वास्थ्य केन्द्रसँगै रहेको वडा कार्यालयमा उनले आधा घण्टा टेलिभिजन हेरेर बिताए । वडाले खबर गरेपछि ढुक्क भएर खोप लगाउन आएको उनको भनाइ छ । “सबैले लगाएको खोप लाउनलाई केका डर”, उनले भने।

शुक्लागण्डकी–३ कवासेका ७२ वर्षीय कमलराज शर्मा पौडेलले दुलेगौँडा बजारमा रहेको खैरेनीटार स्वास्थ्यचौकीमा पुगेर खोप लगाए । पहिला ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउनेभन्दा उहाँलाई शङ्का लाग्याथ्यो रे । “पहिला त सरकारले ६५ वर्ष माथिकालाई खोप दिने भन्दा केही खतरा भएर मरेनी यिनै बूढाबूढी पहिला मरुन् भनेर होला कि भन्ने शङ्का नि थियो । पछि ठूलाठूला मान्छेले नि लगाए रे भनेसी त्यस्तो होइन भन्ने भो”, उनले भने, “आज त आफैँले पनि ढुक्क भएर खोप लगाएको छु ।” खोप लगाएपछि कोरोना लाग्दैन भन्ने उनलाई लागेको छ ।

फागुन २३ गतेदेखि दोस्रो चरणको पहिलो प्राथमिकतामा परेका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई ‘कोभिशिल्ड’ लगाउने अभियान देशभर चलेको छ । सोहीअनुसार तनहुँमा पनि खोप अभियान चलेको छ । खोप लगाउन तोकिएको खोप केन्द्रसम्म उत्साहका साथ ज्येष्ठ नागरिक लौरीको सहारामा आएका छन् । कतिलाई आफन्तले खोप लाउन डो¥याउँदै ल्याएको देखिन्छ । ज्येष्ठ नागरिकलाई असहज नहोस् भनेर खोप केन्द्रमा पनि बसाइको व्यवस्था मिलाइएको छ । कतिपय स्थानमा खोप केन्द्र टाढा हुँदा सास्ती भोग्नुपरेको छ । ग्रामीण भेगमा नजिक स्वास्थ्य केन्द्र नहुँदा बुढेसकालमा घण्टौँको बाटो पैदल हिँडेर पुग्नुपर्ने बाध्यता छ ।

खोप लगाउन ज्येष्ठ नागरिकको सक्रिय सहभागिता रहेको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए । उनले भने, “बूढाबूढीलाई पनि सरकारले प्राथमिकता दिएर खोप लगाउन दियो भन्दै खुशी व्यक्त गरेका छन् ।” तनहुँमा फागुन २३ गतेदेखि २७ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिकामा र फागुन २८ गतेदेखि शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकामा खोप अभियान चलिरहेको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्