Logo

माधव नेपाल पक्षको राष्ट्रिय भेला प्रचण्डकाे निर्देशन र हाेमवर्कबमाेजिमकाे रमिता हाे : थापा



काठमाडौं, ३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधव नेपाल पक्षले आयोजना गर्ने राष्ट्रिय भेलालाई बहिष्कार गर्न अपिल गरेका छन् । उनले सामाजिक सञ्जाल फेशबुकमार्फत नेपाल पक्षले आयोजना गर्ने भनिएको उक्त भेलालाई शहरमा विधि र पद्धतीको रमिता र गाईजात्राको संज्ञा दिएका छन् ।

उनले नेपाल पक्षले भोलि र पर्सी (चैत्र ४ र चैत्र ५) गते काठमाडौंमा आयोजना गर्ने भनेको भेलालाई खासमा प्रचण्डको निर्देशन र होमवर्कबमोजिमको मेला, राम र रमिता भएको आरोप लगाएका छन् । साथै, उनले उक्त भेलालाई चैत महिनामा प्रदर्शित बेमौसमी गाइजात्रा पनि भन्न सकिने उल्लेख गरेका छन् ।

हेरौं थापाले माधव नेपाल पक्षको भेलालाई लक्षित गरेर उठाएका १५ सवाल

शहरमा “विधि र पद्धति”काे
रमिता कि गाइजात्रा ?
नेकपा (एमाले)काे नाममा सानेपास्थित महङ्गो हेरिटेज गार्डेनमा आयाेजना गर्ने भनिएकाे कथित गुटगत भेला-
१. खासमा प्रचण्डकाे निर्देशन र हाेमवर्कबमाेजिमकाे मेला, राम र रमिता हाे !
२. यसलाई चैत महिनामा प्रदर्शित बेमाैसमी गाइजात्रा पनि भन्न सकिन्छ ।
३. आफ्नाे निहित स्वार्थका लागि नेकपा (एमाले) विभाजन गरी समाप्त गर्न चाहने तत्वहरूकाे उक्साहट र षडयन्त्र हाे ।
४. याे केवल यसका नेतृत्वकर्ताहरूकाे कुण्ठा र द्वेय प्रदर्शन मात्रै हाे ।
५. पार्टीकाे सरकार पाँच बर्ष चल्नै नदिने कसम खाएर केही व्यक्तिहरूकाे नेतृत्वमा भइरहेका जनविरोधी, अनैतिक र विभाजनकारी कृत्यकाे मञ्चन मात्र हाे ।
६. याे “विधि र पद्धति”काे दुहाई दिंदै गत बैशाख महिनायता जारी नाङ्गो गुटबन्दीकाे पराकाष्ठा हाे, जाे प्रचण्डकाे आड र साठगाँठमा चल्दैआएकाे विभाजन ने हाे भन्ने तथ्य स्पष्ट नै छ । र, अलग समूह बनाएर पुन: प्रचण्ड पथमा सामेल हुन जाने तयारी हाे । त्यसकै लागि प्रचण्डले आफ्नाे समुहकाे केन्द्रीय कमिटी बैठक स्थगन गरि पर्खिरहेकाे यथार्थ जगजाहेर नै छ ।
७. हिजाे नेकपामा सहमतिकाे आधारमा निर्णय गर्ने वैधानिक व्यवस्था हुँदाहुँदै बहुमतकाे नाममा प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई गरेकाे चारपटक निस्कासनकाे अपमानजनक अपराध तथा आज अध्यक्ष मान्नुकाे विकल्प नै नरहेकाे असहजता र छटपटीकाे अनुभूति हाे ।
८. नेपाल राष्ट्र, नेपाली जनता, नेपाली कम्युनिस्ट आन्दाेलन, स्थिरता, विकास र समृद्धिविरूद्दकाे घात हाे ।
९. पार्टी केन्द्रीय कमिटीकाे फागुन २८ गतेकाे निर्णयकाे अवज्ञा,अनुशासनहीनता र अराजकता हाे । कार्की बैक्वेट पार्टीको भए पनि स्वघाेषित अध्यक्ष भइछाड्ने पदलाेलुपता एवं अभिनय हाे ।
१०. पार्टी पद्धति,मूल्य, मान्यता र विधानकाे बर्खिलाप कार्य हाे । फागुन २३ गते यता अर्याल हाेटलमा जारी गुटगत भेला, बैठक र समानान्तर गतिविधि ढाकछाेपकाे निम्छराे र निरूपाय काेसिस हाे । र, चैत २ गते धुम्बाराहीमा भएको छलफलमा अध्यक्षले भेला राेक्न दिनुभएको निर्देशनकाे ठाडाे अवज्ञा हाे ।
११.चैत १ गते ११ जना व्यक्तिले पार्टी अध्यक्षविरूद्द जारी गरेकाे १९ पृष्ठ लामाे पुरानाे आराेपपत्रकाे नयाँ संस्करणका आधारमा नेतृत्वलाई पुन: खुइलाउने, बदनाम गर्ने एवं कार्यकर्ता र जनतामा घृणा फैलाउने र पार्टीलाई संस्थागत प्रक्रियामा संचालन हुन नदिई अनुचित संझाैताकाे बन्धक बनाउने कुत्सित प्रयास हाे ।
१२. सरकारले गरेका जनक्षीय कामहरूमा पर्दा हालेर जनतामा भ्रम फिंजाउने र सिंगाे कम्युनिस्ट आन्दोलनकाे भविष्यमा कालाे बादल मडारिने अवस्था सिर्जना गर्ने दुष्प्रयास मात्र हाे ।
१३. पार्टीलाई केन्द्रीय कमिटीको निर्णयअनुरूप नयाँ परिवेशमा नयाँ ऊर्जाका साथ सञ्चालन गर्ने पहलकदमीमा चिसाेपानी खन्याउने र निराशा पैदा गर्ने लज्जास्पद कार्य हाे ।
१४. याे आाम जनता र कार्यकर्ताकाे आकांक्षा र अभिमतविपरितकाे क्रियाकलाप हाे। यस्ताे कार्यमा काेही कसैले आफुलाई सामेल नगराै ।
१५. त्यसैले आउनुहाेस-विभाजन र बिखण्डनकारी तथा एकताविराेधी हर्कतहरूप्रति सचेत र सावधान हुँदै नेकपा(एमाले) र सूर्य चिन्हकाे पक्षमा स्पष्ट र एकजुट भएर अघि बढाैं ! अरू कसैकाे याेजनामा परिचालित व्यक्तिका षड्यन्त्रमूलक र जनविरोधी काेसिसहरूलाई परास्त गराैं !!



प्रतिक्रिया दिनुहोस्