काठमाडौं, ३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको सत्तामा रहने या नरहने चैत्र भित्र छिनोफानो हुने भएको छ । ओली नयाँ समिकरण बनाउने प्रयासमा छन् । उनीविरोधीहरु पनि समिकरण बनाएर हटाउने गृहकार्यमा लागेका छन् ।
समिकरण बनाउने प्रयासमा को प्रधानमन्त्री बन्ने भन्ने विषयले पनि अड्किएको छ । संविधान अनुसार प्रतिनिधि सभा सदस्य भएको व्यक्तिमात्र प्रधानमन्त्री बन्न पाउँछ । त्यसैले प्रधानमन्त्री ओलीसहित, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका नेताहरु सरकारको नेतृत्वको दाबेदार देखिएका छन् ।
केपी शर्मा ओली
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमाले र माओवादी केन्द्रलाई मिलाउने प्रयासमा अझै लागेका छन् । कम्तिमा सत्ताको सहकार्यका लागि समेत उनले प्रचण्डलाई फकाउन खोजिरहेका छन् । तर, त्यसको सम्भावना न्यून छ । ओलीले जनता समाजवादी पार्टीको समर्थन समेत लिन खोजेका छन् । त्यसका लागि उनले एमालेको एकता कायमै राख्नुपर्ने हुन्छ ।
शेरबहादुर देउवा
देउवालाई प्रधानमन्त्रीको प्रस्ताव आएपनि मौन छन् । उनलाई माओवादी केन्द्रको पनि समर्थन हुने भएको छ । तर, जसपाको समर्थनमा आशंका गरिरहेका छन् । दुवै दलले समर्थन गरेमा भने देउवा प्रधानमन्त्री बन्न सक्छन् । देउवाको अहिलेको उद्देश्य काँग्रेस महाधिवेशनमा केन्द्रित छ । १४ औं महाधिवेशन टार्ने या आफू जित्ने गरी राजनीतिक माहोल बनाउन लागेका छन् । देउवाले जसपालाई सरकारको नेतृत्वमा शर्तसहित समर्थन गर्ने सम्भावना पनि छ । उनी केपी शर्मा ओलीको समर्थनमा प्रधानमन्त्री हुने सम्भावना नभएको होइन । तर, काँग्रेसभित्र उनीविरोधी नेताहरुले त्यसलाई सम्भव हुन नदिने निश्चितप्रायः छ ।
प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जसरी हुन्छ ओलीको बर्हिगमनमा लागेका छन् । तर, राजनीतिक घटनाक्रमले उनलाई पनि सरकारको नेतृत्वमा पुर्याउन सक्छ । प्रचण्ड तत्काललाई ओलीमाथि राजनीतिक जीत हासिल गर्न काँग्रेस या जसपामध्ये जस्लाई सरकारको नेतृत्वमा साथ दिन तयार देखिएका छन् । ओलीसँगको संघर्षलाई प्रचण्डले राजनीतिक प्रतिष्ठाको विषय बनाएका छन् ।
माधवकुमार नेपाल
ओलीसँग नेपालको संघर्ष चल्दै आएको छ । उनी पनि ओलीको सत्ता बर्हिगमन चाहन्छन् । यसलाई प्रतिष्ठाको विषय बनाएका छन् । एमालेमा रहेर पनि उनले ओलीलाई ठुलो हानीनोक्शानी पुर्याउन सक्छन् । त्यसका लागि प्रत्यक्ष अप्रत्यक्ष प्रधानमन्त्रीका लागि ओलीबाहेकलाई समर्थन गर्न सक्छन् । तर, एमालेभित्र एकता भएमा माधव नेपाल नै प्रधानमन्त्री बन्ने सम्भावना पनि रहन्छ । त्यतिबेला नेपाललाई प्रचण्डको पनि साथ मिल्न सक्छ ।
झलनाथ खनाल
नेकपा एमाले र माओवादी केन्द्रभित्र झलनाथ खनालको नाममा पनि सहमति बन्न सक्छ । ओलीको विकल्पमा माधव नेपाल र प्रचण्डले पनि खनाललाई समर्थन गर्ने सम्भावना हुनसक्छ ।
डा. बाबुराम भट्टराई
काँग्रेस, माओवादी केन्द्र र जसपाबीचको समिकरण निर्माणमा भट्टराई लागेका छन् । काँग्रेसले नेतृत्व नलिए जसपाले लिने गरी अगाडि बढेका छन् । जसपाभित्र उनको सम्भावना बलियो छ । भट्टराईलाई माओवादी केन्द्र र काँग्रेसबाट पनि शर्तसहित साथ हुनसक्छ ।
महन्थ ठाकुर
जसपाले सरकारको नेतृत्व पाएमा महन्थ ठाकुर अगाडि बढ्ने सम्भावना छ । पाको उमेरका ठाकुरको दाबी बलियो बनेको छ । उनलाई जसपाभित्र भट्टराईको पनि साथ हुनसक्छ ।
प्रकाशमान सिंह
काँग्रेसभित्र सभापति शेरबहादुर देउवा सरकारमा जानबाट रोकिए विकल्पमा नयाँ अनुहारको खोजी हुनसक्छ । त्यतिबेला वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर सिंह अगाडि आउन सक्छन् । संसदीय दलमा सिंहले विगतमा देउवालाई चुनौती दिएकाले फेरि पनि दिनसक्छन् । उनी प्रधानमन्त्री बन्ने सम्भावना देखिएमा अगाडि बढ्नसक्छन् ।
डा. सशांक कोइराला
काँग्रेस महामन्त्री डा. सशांक कोइराला पनि प्रधानमन्त्रीका दाबेदार हुन् । देउवाको विकल्पमा सशांक अगाडि सार्ने सम्भावना पनि छ ।