Logo

एमालेमा दोहोरी



काठमाडौं, चैत ४। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले बोलाएको भेलामा सहभागी नहुन आग्रह गर्दै सहभागी हुनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुटगत भेलामा सहभागी हुनेलाई पार्टी विधानअनुसार कारबाही गरिने चेतावनी दिएका हुन् । असन्तुष्ट पक्षले भने कारबाहीको धम्कीले आफूहरू नतर्सने बताउँदै पार्टीमा व्याप्त निरंकुशताविरुद्ध लड्दा आफूहरू लामबद्ध कारबाही भोग्न तयार रहेको बताएका छन् ।

पार्टी अध्यक्ष ओलीसँग असन्तुष्ट माधवकुमार नेपाललगायतका नेताले बुधबार र बिहीबार काठमाडौंमा भेला गर्दै छन् । एमाले वरिष्ठ नेताद्वय नेपाल र खनालले सो भेलालाई सम्बोधन गर्ने र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ ।

‘आज भेला आह्वान गरेको छ रे । नेकपा एमालेसँग आवद्ध नेता वा कार्यकर्ता गुटगत भेला नगर्न, नगराउन, त्यस्ता भेलामा सरिक नहुन सम्पूर्ण नेता कार्यकर्तालाई सजग, सचेत गराउन चाहन्छु’, प्रधानमन्त्री ओलीले भने, ‘पार्टी एकताको पक्षमा बस्न आग्रह गर्न चाहन्छु । त्यस्ता गुटगत भेलाहरूमा सरिक नहुन पनि म तमाम कार्यकर्तालाई आग्रह गर्छु । अनुशासनहीन काम भयो भने पार्टीको विधान, संसद्को नियमावली र दलसम्बन्धी कानुन छ । ती सबतिर म ध्यानाकर्षण गर्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले सडकमा विधिविधानका कुरा गरेर जंगलको राज गर्न चाहेको टिप्पणी गर्दै उनले अब पार्टीभित्र अराजकता चल्न नदिने बताए । ‘जंगलको राज चलाउने अनि विधि पद्धतिका कुरा गर्ने? लोकतान्त्रिक मूल्यमान्यता, पद्धति, विधि, नियम, कानुन, देशको संविधान केहीको पनि कुनै मतलब छैन, अंहकार स्वेच्छाचारिता,’ प्रधानमन्त्री ओलीले भने, ‘अब पार्टी ३ जेठ, २०७५ को भन्दा अगाडिको स्थितिमा फर्कियो भनेपछि पनि केही मानिस छुट्टै भेला, छुट्टै बैठक गरिरहेका छन्, निहुँ खोजिरहेका छन्, त्यस्तालाई उचित कारबाही हुनेछ ।’

७ चैतमा बोलाइएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन आग्रह गर्दै गुटगत भेला गरेर पार्टीलाई कमजोर बनाउने काम नगर्न उनले सुझाव दिएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्