काठमाडौं, चैत ४ । मुलुकमा उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ४२ महीनाकै कम देखिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार माघमा मुद्रास्फीति २ दशमलव ७० प्रतिशतमा सीमित रहेको छ । यसअघि सबैभन्दा कम मुद्रास्फीति आर्थिक वर्ष ९आव० २०७४र७५ को साउन महीनामा रहेको थियो । त्यस महीनामा यस्तो मुद्रास्फीति दर २ दशमलव २९ प्रतिशत रहेको थियो । यो कोभिड–१९ का कारण तरकारीमा भएको महँगी घटेको र अन्य वस्तुको मूल्यवृद्धिसमेत कम भएकाले मुद्रास्फीति नियन्त्रणमा आएको हो ।
अहिले समग्रमा वार्षिक विन्दुगत उपभोग्य मूल्यवृद्धि नियन्त्रणमा देखिनुको कारण तरकारीको मूल्य कम हुनु पनि हो । तर, बजारमा घ्यूतेलको मूल्यवृद्धि नियन्त्रण हुन नसकेको केन्द्रीय बैंकको भनाइ छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत आवको माघको तुलनामा २०७७ माघमा घ्यू तथा तेलको मूल्यवृद्धि १८ दशमलव ८४ प्रतिशत छ । गतवर्षको सोही अवधिमा यस्तो मूल्यवृद्धि ३ दशमलव ७५ प्रतिशत थियो । यसैगरी माघमा फलफूलको मूल्यवृद्धि १८ प्रतिशत ८४ प्रतिशत, माछामासुको ८ प्रतिशत छ भने दाल तथा गेडागुडी र सुर्तीजन्य वस्तुको मूल्यवृद्धि १० दशमलव ४१ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार माघ महीनामा काठमाडौं उपत्यकामा २ दशमलव १२ प्रतिशत, तराईमा २ दशमलव ७८ प्रतिशत र हिमालमा २ दशमलव शून्य ५ प्रतिशत मुद्रास्फीति हुँदा पहाडमा भने ३ दशमलव ३० प्रतिशत छ ।
पछिल्लो समय आयातमा सुधार भएकाले पनि तरकारीजस्ता वस्तुको महँगीमा नियन्त्रण आएको हो । गतवर्षको माघमा विदेशबाट वस्तु तथा सेवाको आयात खुम्चिएको थियो । विशेष गरेर सो अवधिमा चीनमा कोभिडको प्रभाव चरम भएकाले त्यस ठाउँबाट हुने आयात ठप्प थियो । नेपालमा पनि यसको प्रभाव पर्दा लामो समय आयात घटिरहेको थियो । माघदेखि भने थोरै भए पनि सुधार भएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार आव २०७७र७८ को ७ महीनामा कुल वस्तु आयात शून्य दशमलव शून्य १ प्रतिशतले बढेर ८ खर्ब ३ अर्ब ६४ करोड कायम भएको छ । गतवर्षको सोही अवधिमा यस्तो आयात ३ दशमलव ६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ७ दशमलव १ प्रतिशतले बढेको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १२ दशमलव ४ प्रतिशत र १० दशमलव ८ प्रतिशतले कमी आएको छ ।
राष्ट्र बैंकका अनुसार चामल, कच्चा सोयाविन तेल, एमएस बिलेट, सुन, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जालगायत वस्तुको आयात बढेको छ । पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेशिनरी तथा पार्टपुजा, भिडियो, टेलिभिजन तथा पार्टपुर्जालगायत वस्तुको भने आयात घटेको छ । आर्थिक अभियान दैनिकबाट