Logo

क्रश बोर्डर विद्युत् व्यापार मार्गदर्शन निर्माणको तयारीमा ऊर्जा मन्त्रालय



काठमाडौं, चैत ४ । भारतले अन्तरदेशीय विद्युत् व्यापारसम्बन्धी कार्यविधि ल्याएपछि नेपालले पनि सोहीसम्बन्धी मार्गदर्शन बनाउने प्रक्रिया अगाडि बढाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले फागुन १४ गते (फेबु्रअरी २६ तारीख) मा उक्त कार्यविधि जारी गर्दै नेपालबाट विद्युत् खरीद गर्ने व्यवस्था गरेको थियो । त्यसपछि नेपालले भारतसहित अन्तरराष्ट्रिय बजारमा विक्री गर्ने बजार सुनिश्चित गर्न क्रश बोर्डर विद्युत् व्यापारसम्बन्धी मार्गदर्शन बनाउने तयारी गरेको हो ।

भारतले उक्त कार्यविधि जारी गरेपछि नेपाललाई भारतमा विद्युत् विक्री गर्न बाटो खुलेको छ । यद्यपि, विद्युत् निर्यातलाई आवश्यक सहजीकरण गर्न मार्गदर्शन तयार पार्न लागिएको हो ।

ऊर्जा मन्त्रालयले मार्गदर्शन निर्माण प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले क्रश बोर्डर विद्युत् व्यापारसम्बन्धी मार्गदर्शन बनाउने प्रक्रिया अगाडि बढाइएको बताए । यसका लागि ऊर्जा, श्रम मन्त्रालय, विद्युत् नियमन आयोग, नेपाल विद्युत् प्राधिकरणको प्रतिनिधित्व हुने गरी कार्यदल नै गठन गरिएको उनले जानकारी दिए । कार्यदलको संयोजकमा भेटवाल रहेका छन् ।

भारतले यस सम्बन्धमा कार्यविधि ल्याइसकेपछि नेपालको तर्फबाट पनि आवश्यक मार्गदर्शन बनाउन लागिएको भेटवालले बताए । मागदर्शन बनेपछि अन्तरदेशीय विद्युत् व्यापार सम्बन्धमा थप स्पष्टता हुने उनको बुझाइ छ ।

नेपाल–भारतबीच यसअघि नै विद्युत् व्यापारसम्बन्धी सम्झौता भइसकेको छ । सोही आधारमा नेपाल–भारतले विद्युत् व्यापार सम्बन्धमा आवश्यक नीतिगत निर्णय गरिसकेका छन् । तर, प्रचलित विद्युत् ऐनमा अन्तरदेशीय विद्युत् व्यापारसम्बन्धी परिकल्पना गरिएको छैन ।

संसद्मा विचराधीन विद्युत् विधेयकमा भने यससम्बन्धी आवश्यक व्यवस्था छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्