काठमाडौं, चैत ५ । मोनोरेल, मेट्रोरेलजस्ता पूर्वाधार बनाउने योजनाले रोकिएको चक्रपथको फ्लाईओभर निर्माण अघि बढाउने तयारी भएको छ ।काठमाडौं चक्रपथको कलंकी–कोटेश्वर खण्डको ग्वार्कोमा फ्लाईओभर बनाउने निश्चित भएसँगै सडक विभागले स्रोत सुनिश्चित गर्न सम्बद्ध निकायलाई आग्रह गर्ने भएको हो ।
पहिलो चरणमा बन्ने यस फ्लाईओभरका लागि विभागले भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत ग्वार्कोमा फ्लाईओभर बनाउन अर्थ मन्त्रालयमा फाइल पठाउने तयारी गरेको हो । विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा। विजय जैसीले योजनाको अध्ययन सम्पन्न भए पनि फ्लाईओभर निर्माणका लागि हाल बजेट नभएको बताए ।
शुरूमा बन्ने ग्वार्को फ्लाईओभरका लागि करीब ३० करोड रुपैयाँ लगानी आवश्यक पर्ने देखिएकाले त्यसको स्रोत सुनिश्चित गर्न भौतिकमार्फत अर्थ मन्त्रालयमा बजेट माग गर्ने तयारी भएको उनले जानकारी दिए ।
‘त्यसका लागि यही साता अर्थमा फाइल पठाउने तयारी छ,’ जैसीले भने, ‘अर्थले बजेट सुनिश्चित गरेपछि टेन्डर आह्वान गरिनेछ । निर्माणको काम साढे २ वर्षभित्र सम्पन्न गर्न लक्ष्य छ ।’ ग्वार्कोमा निर्माण हुने फ्लाईओभरको दूरी ३५ मीटर हुनेछ भने दायाँबायाँबाट उक्लने रेम्प १५०र१५० मिटर गरी कुल ३३५ मीटर लामो हुनेछ ।
सातदोबाटो र एकान्तकुनाको डिजाइन फाइनल गर्न बाँकी छ । यस खण्डमा लामो फ्लाईओभर बनाउनुपर्ने र लागत पनि बढी हुने देखिएकाले पहिलो चरणमा ग्वार्कोमा बनाउन लागिएको हो ।
फ्लाईओभर निर्माणका लागि अध्ययन शुरू गर्दा चक्रपथमा विभिन्न निकायका विभिन्न परियोजना अघि बढाउने घोषणाले योजना नै जुधेका थिए । यद्यपि विभिन्न निकायबीच मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपछि ग्वार्कोमा फ्लाईओभर बन्ने निश्चित भएको छ ।
चीन सरकारको सहयोगमा ८ लेनमा विस्तार भइसकेको उक्त सडकमा हुने दुर्घटना, ट्राफिक जाम हटाउन ती स्थानमा फ्लाईओभर तथा अन्डरपासजस्ता पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको छ । फ्लाईओभर निर्माणमा अनुभव नभएकाले पनि अहिले पाइलट प्रोजेक्टको रूपमा ग्वार्को फ्लाइओभरलाई अघि सारिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।