काठमाडौं, चैत ५ । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्ज र पर्यटन पत्रकार संघले भारतीय सिमानाबाट सवारीसाधनको आवागमन खोल्न माग गरेका छन् । यी संस्थाहरूले बुधवार उपप्रधानमन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।
सरकारले कोरोना महामारी नियन्त्रणका लागि बन्द गरिएको सीमानाकाबाट सवारी आवागमन हालसम्म पनि नखुलाउँदा होटल र पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको व्यवसायीको गुनासो छ । भारतसँग सीमा जोडिएका वीरगञ्जलगायत नाकाबाट सवारीसाधन आउजाउमा रोक लगाइएकाले भारतीय र भारत भएर स्थलमार्गबाट नेपाल आउने पर्यटक आउन नसकेको व्यवसायीले बताएका छन् ।
ज्ञापनपत्र बुझ्दै उपप्रधानमन्त्री पोखरेलले भारतीय सीमाबाट सवारीसाधनको आवागमन चाँडै खोल्ने आश्वासन दिएको होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तले जानकारी दिए ।
बन्दाबन्दी खुलेपछि अन्य उद्यम व्यवसाय स्वाभाविक गतिमा फर्किन लागेको अवस्थामा सीमानाकामा सवारी आवागमनलाई अनुमति नदिइएकाले होटल र पर्यटन व्यवसाय झन् थला परेको ज्ञापनपत्रमा उल्लेख छ । भारतीय पर्यटकको भरमा खुलेका सीमावर्ती बजारका होटल सवारी आउजाउ नखुल्दा नराम्ररी प्रभावित भएको व्यवसायीको भनाइ छ । आर्थिक अभियान दैनिकबाट