काठमाडौं, ५ चैत्र । नेकपा (एमाले) को खनाल–नेपाल पक्षका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा एकलौटी रुपमा गरेको निर्णय फिर्ता नभएसम्म पार्टी एक ढिक्का नहुने चेतावनी दिएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ अष्टलक्ष्मी शाक्यले आफूहरुले पार्टीलाई एक बनाएर लैजान लागेको स्पष्ट पारिन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाही गर्छु भनेर दिएको धम्कीले आफूहरु नडराउने पनि स्पष्ट पारिन् । उनले अहिले पद ठूलो कुरा नभएको भन्दै कम्युनिष्ट आन्दोलन जोगाउने कुरा नै ठूलो कुरा भएको बताईन् । उनले आफूहरुले आयोजना गरेको भेला गुटको भेला नभई पार्टीको भेला भएको जिकिर गरिन् । उनले केपी ओली ब्याक नभए आफूहरु पनि ब्याक नहुने चेतावनी दिएकी छिन् ।