काठमाडौं, ५ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘गर या मर’ को राजनीतिक लडाईंमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चट्टानी अडान लिने भएका छन् । उनले कुनै हालतमा ओलीसँग सहकार्य नगर्ने अडान लिएको बुझिएको छ ।
ओलीसँग सहकार्य नगर्ने मात्र नभई उनको कदमलाई साथ दिनेलाई पनि प्रचण्डले साथ नदिने भएका छन् । ओलीले प्रतिनिधि सभा विघटनको कदम चाल्दा जो जो मौन बसे तिनीहरुसँग प्रचण्ड सहकार्य नगर्ने पक्षमा पुगेका छन् । जो जो विघटनविरुद्ध कडा रुपमा उभिए उनीहरुसँग नै सहकार्य गरेर बढ्ने प्रचण्डको रणनीति खुलेको छ ।
प्रचण्डले आज सिन्धुलीमा पुगेर कार्यकर्तामाझ चालेको कदम असंवैधानिक भन्नेहरुसँग समिकरण बन्ने खुलासा गरे । त्यस्तो समिकरण र सहकार्य पार्टीहरुसँग र ती पार्टीका व्यक्ति विशेषसँग पनि हुनसक्ने संकेत गरे । यसैलाई आधार बनाएर प्रचण्डले राजनीतिक तरंग ल्याउने कदम चाल्ने भएका छन् । उनले काठमाडौं आएलगत्तै त्यस्तो निर्णय गरेर बढ्ने बुझिएको छ ।
प्रचण्डले हिजो सिन्धुली पुगी रिफ्रेश भएपछि नयाँ जोसका साथ बोलेका छन् । अब उनी फेरि नयाँ जोससाथ प्रस्तुत हुने बुझिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने समय आएको समेत बताए । हटाउन नयाँ प्रधानमन्त्रीका बारे समेत प्रचण्डले संकेत गरे । ओलीको कदमविरुद्ध खरो रुपमा प्रस्तुत भएको व्यक्ति नै प्रधानमन्त्री हुनसक्ने प्रचण्डको भनाई थियो । File Photo/ReportersNepal