वाग्मती, ५ चैत: हेटौँडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा साविक विजेता मकवानपुर–११ फाइनलमा प्रवेश गरेको छ ।
शहीद स्मारक ए डिभिजन लिग विजेताले मच्छिन्द्र क्लबलाई ४–३ गोलअन्तरले पराजित गर्दै मकवानपुर–११ फाइनल प्रवेश गरेको हो । मच्छिन्द्रले शुरुवाती अग्रता लिए पनि हार व्यहोर्न बाध्य भयो । घरेलु टोलीका लागि म्यान अफ द म्याच अमिर श्रेष्ठले २ गोल गरे भने रुपेश केसी र रञ्जन विष्टले १–१ गोल गरे । मच्छिन्द्रका लागि पुजन उपरकोटी, अशोक थापा र राजेश परियारले १–१ गोल गरे । खेलको म्यान अफ द म्याच अमिर श्रेष्ठ घोषित भए । अमिरले नगद रु १० हजार प्राप्त गरे ।
म्यान अफ द म्याचको ट्रफी जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले हस्तान्तरण गर्नुभयो । दोस्रो सेमिफाइनल खेल आज क्यामरुनको अफ्रिकन रुट्स एशोसिएशन (अरास) र नेपाल आर्मीबीच खेल हुनेछ ।
चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छ वटा ए डिभिजन, आयोजक र दुईवटा मोफासलका क्लब गरी दश टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद रु १० लाख र उपविजेता टिमले पाँच लाख पुरस्कार प्राप्त गर्ने छन् ।-रासस/File Photo