Logo

न्यायाधीशको सम्पति सार्वजनिक कानुन कहिले?



काठमाडौं, चैत ६ । न्यायालयभित्र हुने भ्रष्टाचार रोक्न भन्दै तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले ५ चैत २०७४ मा न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्नेगरी कानुन निर्माण गर्ने घोषणा गरे । त्यतिबेला उनको घोषणाको ‘वाहीवाही’ भयो ।

यद्यपि, घोषित प्रक्रिया अघि बढाउन नपाई तामाङ मन्त्री पदबाटै बिदा हुन विवश भए । उनको घोषणा अलपत्र प(यो । पछि आएका अरू कानुनमन्त्रीले तामाङको जस्तो ‘हिम्मतदार योजना’ ल्याउन नसक्दा न्यायाधीशको सम्पति सार्वजनिकसम्बन्धी कानुन बन्न सकेको छैन । तामाङको कार्ययोजनालाई अरू कानुनमन्त्रीले समेत खासै चासो नदिएको मन्त्रालयकै अधिकारी बताउछन् ।

कानुन निर्माणका लागि तामाङपछिका कानुनमन्त्रीहरूले चासो नदिएपछि सो विषय घोषणामै सीमित बन्न पुग्यो । न्यायाधीशको सम्पत्ति सार्वजनिक हुनुपर्ने र कानुन निर्माण हुनुपर्ने भन्दै नेपाल बारले पटकपटक ध्यानाकर्षण गर्दै आइरहेको छ ।

न्यायपरिषद् ऐनले न्यायाधीशको सम्पतिको अभिलेख बुझाउनुपर्ने उल्लेख गरेको छ तर सार्वजनिक गर्ने विषयमा कुनै कुरा उल्लेख गरेको छैन । हालको कानुनअनुसार न्यायाधीश विवादमा तानिए मात्रै सम्पत्ति सार्वजनिकको कुरा उठ्न सक्छ तर सिधै न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्नुपर्छ भन्ने भन्ने व्यवस्था कतै उल्लेख भएको छैन ।

कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले समेत न्यायालयको विकृति रोक्न पनि न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने माग जारी राख्दै आइरहेको भए पनि सम्बन्धित निकायले सुनुवाइ गरेको छैन ।

२५ साउन २०७७ मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई ध्यानाकर्षणपत्र पठाउँदै बारले भनेको थियो ‘न्यायाधीश र बार पदाधिकारीको सम्पत्ति पारदर्शी रूपमा छानबिन गरी सार्वजनिक गर्ने व्यवस्था मिलाइयोस् ।’ प्रधानन्यायाधीशलाई ध्यानाकर्षण गरेको लामो समय बितिसक्दा पनि उनले सो विषयमा चासो देखाएका छैनन् ।

१४ चैत २०७४ मा अधिवक्ता सुनिल रञ्जन सिंहले अदालत र न्यायप्रतिको जनआस्था बढाउन सबै अदालतका न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न माग राख्दै न्यायपरिषद्मा निवेदन दिएका थिए ।

न्यायाधीशको सम्पत्ति सार्वजनिक भएपछि गैरकानुनी देखिए छानबिन र कारबाही हुनुपर्ने मागसमेत सिंहको छ । सिंह स्थानीय तह पुनर्संरचना आयोगका तत्कालीन सदस्यसमेत हुन् । तर, न्यायपरिषद्ले पनि सो विषयमा चासो देखाएको छैन । बरु सो फाइल न्यायपरिषद्ले त्यसै थन्काएर राखेको छ ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्