काठमाडौं, चैत ६ । चालू आर्थिक वर्ष २०७७/७८ को फागुन पहिलो सातासम्ममा कुल लक्ष्यको ५७ दशमलव ५२ प्रतिशत राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको बजेटले कुल १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख राजस्व संकलनको लक्ष्य लिएको थियो । जसमध्ये बिहीबारसम्ममा ५ खर्ब ८१ अर्ब ९२ करोड ४० लाख रुपैयाँ संकलन भएको छ ।
सात महिनाको अवधिमा सरकारले करबाट मात्र ५८ दशमलव ९२ प्रतिशत राजस्व संकलन गरिसकेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार करबाट मात्र बिहीबारसम्ममा ५ खर्ब ३७ अर्ब ९४ करोड १५ लाख संकलन भएको छ । सरकारले कर राजस्वबाट ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख उठाउने लक्ष्य लिएको थियो । गैरकरतर्फबाट भने लक्ष्यको ४४ दशमलव ५१ प्रतिशत मात्र सफलता मिलेको छ । कुल ९८ अर्ब ८० करोड ९४ लाखको लक्ष्य रहेकामा ४३ अर्ब ९८ करोड २५ लाख मात्र उठेको छ ।
आर्थिक वर्ष २०७७/७८ को माघसम्म संघीय सरकारको कुल राजस्व गत आर्थिक वर्षको सोही अवधिको कुल राजस्व ४ खर्ब ९२ अर्ब ३८ करोडको तुलनामा १ दशमलव २५ प्रतिशतले वृद्धि भई ४ खर्ब ९८ अर्ब ५२ करोड पुगेको छ । कुल राजस्वमा कर राजस्व ४ खर्ब ५८ अर्ब १० करोड र गैरकर राजस्व ४० अर्ब ४२ करोड रुपैयाँ रहेको छ । यस अवधिमा अन्य प्राप्तिसहित कुल प्राप्ति ५ खर्ब ३० अर्ब ७२ करोड रुपैयाँ रहेको छ । राजधानी दैनिकबाट