काठमाडौं, ६ चैत्र । नेपाल पत्रकार महासंघको २५ चैत्रमा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । नेतृत्वमा पुग्न नेपाल प्रेस युनीयन, प्रेस चौतारी, प्रेस सेन्टर, जनपत्रकार संगठनलगायत पत्रकार सम्वद्ध संस्थाले उम्मेदवार चयन गर्दैछन् । ती संगठनहरुबीच समिकरण बनाउनेबारे समेत छलफल चलिसकेको छ ।
यसपटकको चुनावी दौडमा लोकतान्त्रिक समूहबाट वर्तमान महासचिव रमेश बिष्ट बलिया उम्मेदवारका रुपमा देखिएका छन् । उक्त समूहबाट वर्तमान वरिष्ठ उपाध्यक्ष विपुल पोखरेल, उपाध्यक्ष दिलिप थापामगर, वर्तमान सचिव रामप्रसाद दाहाल र पूर्वसचिव रामजी दाहालले पनि दाबी गरेका छन् । बिष्ट विगतमा कोषाध्यक्ष समेत निर्वाचित भएका थिए । उनी मोफसलमा समेत निकै खटिने गरेकाले मुख्य दाबेदार देखिएका हुन् । दिलिप थापामगरले सक्रिय पत्रकारिता समेत गरिरहेकोले अध्यक्षमा दाबी गरेका छन् ।
प्रेस चौतारीबाट शम्भु श्रेष्ठ, गणेश बस्नेत, बालकृष्ण बस्नेतलगायत मुख्य दाबेदार देखिएका छन् । श्रेष्ठ माधव नेपाल समूहका हुन् । उनले प्रेस सेन्टरको समेत समर्थन पाउने सम्भावना छ । तर, श्रेष्ठको नाममा ओली समूहका पत्रकारहरुले प्रश्न उठाइरहेका छन् । ओली समूहका पत्रकारहरुबाट गणेश बस्नेतको नाम चर्चामा छ ।
प्रेस सेन्टरबाट भने प्रेस युनीयनसँगको पूर्वसहमतिबाट तय हुने बुझिएको छ । वर्तमान अध्यक्ष गोविन्द आचार्यलाई यसअघि युनीयनले साथ दिएको थियो । यसपटक सेन्टरले युनीयनलाई अध्यक्षमा साथ दिने सम्भावना छ । त्यसलाई तोड्न शम्भु श्रेष्ठलाई माधव नेपाल समूहले अगाडि सारेको छ । उनको नाममा प्रेस चौतारीले निर्णय नै गरिसकेको छ । श्रेष्ठले पनि सकारात्मक जवाफ दिएका छन् ।
यसपटक पत्रकार महासंघको चुनावमा वर्तमान महासचिव रमेश बिष्ट र प्रेस चौतारीका पूर्वअध्यक्ष शम्भु श्रेष्ठबीच नै भिडन्त हुने सम्भावना बढेको छ । दुवै आन्तरिक र बाह्य व्यवस्थापनमा सक्रिय भइसकेका छन् ।