Logo

नाथै नाथका बाँदरहरु



उषा शेरचन :

सधैँ अरुकै हात खोसेर
-खान पल्केका बाँदरहरु
सधैँ अरुकै भाग लुटेर
-बाँच्न पल्केका बाँदरहरु

जति नै निर्दोषताका खोल ओढे पनि
जति नै निश्छलताका ढोल पिटे पनि

अरुलाई मात दिने आशामा नै बसिरहेका हुन्छन्
अरुलाई घात दिने ताकमा नै ढुकिरहेका हुन्छन्

चाहे ती राम्रा राम्रा फूल फुलेका
सुन्दर उपवनहरु नै किन नहुन् ?
चाहे ती मीठा मीठा फल लागेका
सुन्दर वृक्षहरु नै किन नहुन् ?

बाँदरहरु जहिले पनि
उजाडनमै लागिपरिरहेका हुन्छन्
बाँदरहरु जहिले पनि
जरै उखेल्नमा कुदिरहेका हुन्छन्
बाँदरहरु जहिले पनि
आफैँ मात्र खानमा तम्सिरहेका हुन्छन्
बाँदरहरु जहिले पनि
आआफ्नै भागबण्डाका लागि लुछाचुँडी गरिरहेका हुन्छन्

समष्टिगत इच्छालाई भन्दा
ब्यक्तिगत इच्छालाई
प्राथमिकता दिँदारहेछन् बाँदरहरु

नागरिक सर्वोच्चतालाई भन्दा
ब्यक्तिगत सर्बोच्चतालाई
सर्बोपरि ठान्दारहेछन् बाँदरहरु

आफ्नो स्वार्थभन्दा माथि उठनै जानेनन् बाँदरहरु
आफ्नो स्वार्थभन्दा माथि उठ्नै सकेनन् बाँदरहरु

बाँदरहरु —
न आफूहरुले नै घर बनाउँदा रहेछन्
न त अरुलाई नै बनाउन दिँदा रहेछन्

बाँदरको हातमा नरिवल हुनुको पनि
कुनै अर्थ नै हुँदोरहेनछ
बाँदरको हातमा डाडुपन्यू दिनुको पनि
कुनै मर्म नै हुँदोरहेनछ

देश जतिसुकै भत्किरहे तापनि
देश जतिसुकै विग्रिरहे तापनि
देश जतिसुकै जलिरहे तापनि

टुलुटुलु हेरेरै बस्न सक्दा रहेछन् बाँदरहरु
रमिता देखाएरै नाँच्न सक्दा रहेछन् बाँदरहरु

बाँदरहरु —
न त मान्छेमै रुपान्तरित हुन सके
न त पवनपुत्र हनुमानै बन्न सके

बाँदरलाई कसैको पनि डर हुन्न रहेछ
बाँदरको कुनै भर पनि हुन्न रहेछ

पशुपतिनाथ स्वयँम्भूनाथ
वा त्यस्तै– त्यस्तै नाथै नाथमा बस्ने
नाथे बाँदरहरुले समेत
आफूहरुलाई पनि नाथै सोच्दा रहेछन्
आफूहरुले पनि नाथैलाई मान्दा रहेछन्

अरुको नक्कल गर्न खुबै सिपालु हुँदा रहेछन् बाँदरहरु
अरुको सिको टिप्न निकै खप्पिस हुँदा रहेछन् बाँदरहरु

त्यसैले पनि होला सायद-
बाँदरहरु जति नै आफ्नाझैँ लागे पनि
बाँदरहरुलाई जति नै हाम्राझैँ ठाने पनि

न त आफ्ना नै हुन सक्दारहेछन् बाँदरहरु !
न त हाम्रा नै हुन खोज्दारहेछन् बाँदरहरु !!



प्रतिक्रिया दिनुहोस्