काठमाडौं, चैत ७। सरकारले निजी क्षेत्रलाई कोरोनाविरुद्धको खोप ल्याउन दिने निर्णय गरेसँगै स्वास्थ्य सेवा विभागमा खोप ल्याउन अनुमति लिन आवेदन पर्न थालेको छ । सरकारले एकलौटी नगरी निजी क्षेत्रलाई पनि खोप ल्याउन दिने गरी बाधा अड्काउ फुकाएपछि निजी क्षेत्रका प्रतिनिधिहरू विभागमा अनुमति लिन पुग्न थालेका हुन् ।
खोप महाशाखा प्रमुख डा झलक गौतमले भने, “खोपका लागि अनुमति लिन आउन थालेका छन् । यो निजी क्षेत्रका लागि राम्रो अवसर हो । खोप ल्याउने, भण्डारण गर्ने र वितरण गर्ने क्षमता भएकालाई दिन सकिने प्रावधानसहित सरकारले निजी क्षेत्रका लागि खोप ल्याउन दिने तयारी थालेको हो ।’’
तथापि उनीहरूले सरकारले तोकेको मापदण्डभित्र रहेर खोप ल्याउनुपर्ने बताइएको छ । पहिले खोप आयात गर्ने अनुमति लिएपछि मात्र कोरोना खोप ल्याउने प्रक्रियामा निजी क्षेत्रले प्रवेश गर्नुपर्नेहुन्छ ।गोरखापत्र दैनिकबाट