काठमाडौं, चैत ८। नयाँ सरकार गठनका लागि दलीय गठबन्धन बनाउने विषयमा सक्रिय बनेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस एकाएक मौन देखिएको छ ।कांग्रेसले स्पष्ट धारणा नदिँदा विपक्षी दलकै भूमिकामा रहेका माओवादी केन्द्र र जनता समाजवादी पार्टी पनि गठबन्धनका विषयमा अन्योलमा परेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा गरेको संसद् विघटनको निर्णयलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भनेको कांग्रेसले सर्वोच्च अदालतले ११ फागुनमा सो निर्णय बदर गरिदिएपछि दलहरूका बीचमा संवाद बढाएको थियो । तर, पछिल्लो समयमा भने कांग्रेस मौन देखिएको हो ।
यस्तै, २२ फागुनको सर्वोच्च अदालतको अर्को फैसलासँगै माओवादी केन्द्रसमेत विपक्षी भूमिकामा पुगेपछि दुई दलबीच संवाद बाक्लिएको थियो । यसैगरी कांग्रेसले जसपाका नेतालाई सभापति निवास बूढानीलकण्ठ डाकेर कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरेको थियो ।
सो छलफलपछि कांग्रेस माओवादी केन्द्र र जसपाबीच त्रिपक्षीय छलफल गर्ने सहमति बनेको भए पनि विपक्षमा रहेका दल अझैसम्म एक ठाउँ बस्न सकेका छैनन् ।
कांग्रेसले भने विकसित घटनाक्रमसँगै नयाँ सरकार गठनका लागि अवस्था परिपक्व नभएको बताउँदै आइरहेको छ । कांग्रेसको निर्णय कुर्दै गरेका माओवादी केन्द्र र जसपा पनि कसरी अघि बढ्ने भन्नेमा टुंगोमा पुग्न सकेका छैनन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले यस्तो राजनीतिक संकटको अवस्थामा कांग्रेसले निर्णायक छैनौं भनेर मौन बस्न नहुने बताउँछन् । राजधानी दैनिकबाट