Logo

४८ वर्षको मायाप्रीति एकै रातमा नटुट्नेः नेता नेपाल



काठमाडौं, चैत ८ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँगको ४८ वर्ष लामो सम्बन्ध एकै रातमा नसिद्धिने बताएका छन् । आफू निकट युवा संघको भेलालाई शनिबार सम्बोधन गर्ने क्रममा उनले ओली र आफूबीच लामो मायाप्रीति भएको भन्दै यस्तो बताएका हुन् ।

नेता नेपालले आफूहरूले एकताको हात बढाउँदा पनि ओलीले पन्छाउन खोजेको बताए । उनले फागुन २८ गते ओलीले मनखुसी केन्द्रीय कमिटीबाट गराएका निर्णय स्वीकार गरी आफू लुरुलुरु बालुवाटार नजाने बताए ।

उनले आफूहरू अध्यक्ष ओलीसँगसँगै जाने पक्षमा रहेको तर उनी तयार नभएको आरोप लगाए । ‘केपी कमरेडलाई मेरो प्रस्ताव छ, नयाँ ढंगबाट जाऔं, एकताको बाटोमा अगाडि बढौं । त्यसका लागि २०७५ जेठ ३ भन्दा अगाडिको अवस्थामा फर्किनुस् र यसबीचमा भएका बैठकका निर्णय अवैध भएकाले फिर्ता लिनुस् ।

त्यसो भयो भने केन्द्रीय कमिटीको बैठक नवौं हुनेछ र हाम्रो बैठक त्यहींबाट सुरु हुनेछ,’ नेपालले भने । नेपालले ओली फागुन २८ को अवैध निर्णय सच्याउन तयार नभएको पनि बताए ।

भेलालाई सम्बोधन गर्ने क्रममा नेता नेपालले २ जेठ २०७५ अघिको अवस्थामा फर्किए सबै कमिटीमा ओली अल्पमतमा पर्ने दाबीसमेत गरेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot