Logo

सफा र सुन्दर बन्दै सीतापुर बजार



लहान, ८ चैत: सिरहाको लक्ष्मीपुर गाउँपालिका– ६ सीतापुर बजार अहिले आफ्नो पहिचान फेर्न लागेको छ ।

स्थानीय तहका जनप्रतिनिधिले उदाहरणीय काम गरेसँगै सो बजारले मुहार नै फेरेको हो । सडक अतिक्रमण र फोहर समस्याकोे सिकार बन्दै आएका सितापुरमा अहिले विकासको लहरले तिव्रता लिएको छ ।

सीतापुर गाउँपालिका– ६ का नवनिर्वाचित वडाध्यक्ष राजेश्वर साह सुडीले सीतापुर बजारस्थित आफ्नो घर र पर्खाल भत्काएर सडक अतिक्रमण हटाउने अभियान शुरुआत गरेपछि स्थानीयले पनि सडकमा पर्ने आफ्नो पर्खाल र घर आँफै भत्काउन थालेका छन् ।

जनप्रतिनिधि आएसँगै गणेशपुर–सीतापुर–नर्गी बोर्डरसम्मको उक्त सडकलाई २२ फिटबाट ३४ फिटको बनाउन थालिएपछि बजार फराकिलो र सुन्दर बनेको स्थानीयले बताएका छन् । सडक साँघुरो हुँदा यातायात आवागमन असहज हुनुका साथै दुर्घटनासमेत अत्यधिक हुँदै आएको थियो । सडक स्तरोन्नतिको कामसँगै यो समस्या अन्त्य हुने भएपछि आफूहरु खुशी भएको उहाँको कथन छ ।

बीससम्म जनप्रतिनिधि नहुँदा विकास निर्माण ठप्प भएको थियो । जनप्रतिनिधि आएपछि गाउँपालिकामा विकासको लहर सिर्जना भएको अर्का स्थानीय शङ्कर साहको भनाइ छ । अब सडक, नाला र बिजुली बत्ती जस्ता पूर्वाधार विकासमा गाउँपालिका र वडा कार्यालयले जोड दिएकाले विकास लहरबढेसँगै स्थानीयमा उत्साह थपिएको उनले बताए ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने सिरहाको लहान नगरपालिकादेखि करीब पाँच किलोमिटरको दूरीमा मात्र रहेको सीतापुर बजारमा बाटो स्तरोन्नतिसँगै पानी निकासीका लागि नाला निर्माणको कामसमेत तीव्ररुपमा भइरहेको अर्का स्थानीय शङ्कर साहको भनाइ छ ।

उनले भने, “सडक र नाला निर्माणको धमाधम हुन थालेपछि आफूहरु उत्साहित भएका छौँ ।” बाटो स्तरोन्नति भएपछि यातायात आवागमन सहज हुनुको साथै बजारको विकास पनि छिटै हुने र बजारमा पानी थुनिने समस्याबाट समेत छुटकारा पाउने भएपछि हामी सबै उत्साहित भएको साहको कथन छ ।

बजारको कुरुप र वर्षायाममा पानी जम्ने समस्यालाई दृटिगत गरी चालू आर्थिक वर्ष २०७४-०७५ को वडास्तरी विकास योजनाबाट सडक स्तरोन्नति र नाला निर्माणको काम शुरु गरिएको वडाध्यक्ष राजेश्वर साह सुडीको कथन छ ।

योजना सञ्चालन भएपछि स्थानीयमा देखिएको उत्साहबाट आफू पनि योजना सफल बनाउन थप हौसिएको वडाध्यक्ष सुडीले बताए । स्थानीयहरुकै आग्रहमा आफू विदेशमा रहेको व्यवस्थापनको जागिर छाडेर वडाध्यक्षमा जितेको स्मरण सुनाए । उनले भने, “स्थानीयले नै आग्रह गरेपछि सीतापुर बजारलाई सुन्दर र सफा शहर बनाउन पहिलो योजना नै त्यहाँ सञ्चालन गरेका हौँ ।” यस योजनालाई सफल बनाउन स्थानीयसमेत उत्साहितपूर्वक लागेको उनको भनाइ छ ।

सडकमा जथाभावी फोहरमैला प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले बजारको ठाउँठाउँमा फोहर फ्याँक्ने डस्टिबिन रााखिने योजनासमेत बनाइको वडाध्यक्ष सुडीले बताए ।

स्वास्थ्य चौकीबाट प्रयोगशाला सेवा

सिरहाको बरियारपट्टीस्थित स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन भएको छ । प्रयोगशाला सेवा सञ्चालन भएपछि स्थानीय औधी खुशी छन् । गाउँपालिकाले आन्तरिक स्रोतबाट कर्मचारी व्यवस्थापन गरेर बरियारपट्टी गाउँपालिका– ३ स्थित स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन गरेको हो ।

हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सो प्रयोगशाला सेवा प्रदान गरिने गाउँपालिका अध्यक्ष सन्तोषकुमार महतोले जानकारी दिए ।

प्रयोगशालाबाट खकार र गर्भवतीलाई एचआइभी जाँच निःशुल्क हुने गाउँपालिका अध्यक्ष महतोले बताए । स्वास्थ्यचौकीमै ल्याब सेवा शुरु भएपछि रगत, दिसा, पिसाब र खकारको जाँचका लागि बिरामीलाई लहानसहित सदरमुकाम सिरहासम्म पुग्नुपर्ने बाध्यतासमेत हटेको उनको भनाइ छ ।

सो स्वास्थ्य चौकीबाट बरियारपट्टीसहित हरिपुर, जानकीनगर, नवटोली, श्रीपुर तथा छिमेकी मुलुक भारतको लदनियाका सर्वसाधारणले स्वास्थ्य सेवा लिँदै आएका छन् ।

बालबालिकाको आँखा जोगाउ शिक्षकलाई तालीम

बालबालिकामा बढ्दो आँखाको समस्या कम गर्ने उद्देश्यले सिरहाका विभिन्न विद्यालयका शिक्षकलाई सचेतनामूलक तालीम दिन थालिएको छ ।

‘रीच’ कार्यक्रमअन्तर्गत लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले शिक्षकमार्फत बालबालिकालाई आँखाको समस्याबाट जोगाउन सकिने भएकाले विद्यालयका शिक्षकलाई सचेतनामूलक तालीम दिन थालिएको हो ।

छदेखि आठ वर्ष उमेर समूहका बालबालिकाको आँखाको सुरक्षाका लागि शिक्षकको भूमिका महत्वपूर्ण भएकाले सिरहाको विभिन्न सामुदायिक विद्यालयका ३० जना शिक्षकहरुलाई आँखा सुरक्षासम्बन्धी तालीम दिइरहेको कार्यक्रम संयोजक विवश राणाले जानकारी दिए ।

बालबालिकामा टेढो आँखा, दृष्टिदोष, मोतिया बिन्दु, जलबिन्दुलगायतका आँखासम्बन्धी समस्या देखिएपछि समस्याको पहिचान गरी उपचारका लागि अस्पतालसम्म ल्याउन प्रेरित गर्न विद्यालयका शिक्षकलाई सचेतनामूलक तालीम दिइएको उनले बताए ।

बालबालिकामा देखिने आँखासम्बन्धी समस्याको पहिचान गरी अस्पतालसम्म ल्याएर निःशुल्क जाँच, शल्यक्रिया र चश्मासमेत उपलब्ध गराइने जनाएको छ । हालै नगरपालिकाले वडा नं १ देखि १० सम्मका छ हजार ९१९ बालबालिकाको आँखा जाँच गर्दा २५० बालबालिकामा आँखाको समस्या देखापरेको थियो । यसमध्ये १० बालबालिकाको शल्यक्रिया र ९८ जनालाई निःशुल्क चश्मा वितरण गरेको अस्पतालले जनाएको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्