काठमाडौं, ८ चैत्र । ग्रिन कफिले मोटोपन घटाउँछ भन्दै ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ग्रिन कफिले मोटोपन घटाउँछ भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१७ खुशीवु नयाँबजारबाट २ जना बिहीबार पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१७ खुशीवु नयाँबजार बस्ने कास्की पोखरा महानगरपालिका–१९ ठेगाना भएका टिम वान सप्लायर्स प्रालिका संचालक ४२ वर्षीय आशिष आचार्य र राहदानी नम्बर ७५२६६५८५७ वाहक रसियन नागरिक ३० वर्षीय IGOR KUTS रहेका छन् ।
आशिषसमेतले ग्रिन कफिले कुनै साईड ईफेक्टबिना साताको १३ किलो वजन तथा मोटोपन घटाई शरीरलाई फाईदा हुने अचम्मको विधि पत्ता लगाएको भन्ने विज्ञापन तथा सामाजिक सञ्जालमा प्रचारप्रसार गरी भ्रामक सूचना फैलाई विक्रीवितरण गरी ठगी गरेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उक्त सप्लायर्सबाट ६ सय ४४ केजी हरियो कफि, तयारी अवस्थामा राखिएका १ सय ग्रामका २ हजार ८ सय २२ प्याकेट हरियो कफी, १ सय १४ थान विभिन्न बाकस, २५ थान ल्यापटप, २ थान सिपियु, रसियन नागरिक IGOR KUTS को २ थान राहदानी प्रहरीले बरामद गरेको छ । साथै IGOR KUTS को डेरा कोठाबाट ३ लाख ९७ हजार नेपाली रुपैयाँ, बिटकोइन माइनिङसँग सम्बन्धित उपकरणहरु जस्तो देखिने सिपियु सहितको मदरबोर्ड, ४ पिस ग्राफिक्स कार्ड र हार्डडिक्स समेत प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।
उनीहरूले उक्त कफी प्रति केजी ९ सय ६० रुपैयाँमा नेपालकै विभिन्न भागबाट खरिद गरी करिब २० हजार देखि ४० हजार रुपैयाँ प्रति केजीसम्म बेच्ने गरेको, उक्त प्रालिको कार्यालय तथा गोदामबाट Cardioton, Dozex र Crytalix लेखिएको कानून बमोजिम अनुमति समेत नलिएका Suppliment हरु नेपालमा गैरकानूनी रुपमा बेच्ने योजना रहेको र उनीहरूको नेटवर्क भारत तथा रसियामा समेत रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरूमाथि ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट म्याद अनुमति लिई अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।