Logo

अमेरिकी रक्षामन्त्रीको पहिलो विदेश भ्रमणको गन्तव्य भारत बन्नुको सामरिक महत्व



–विपिन देवः अमेरिकी सेक्रेटरी अफ डिफेन्स लियोल्ड अस्टिनको तीन दिने भारत यात्रा मार्च १९ देखि सुरु भएको परिघटनाको बारेमा विश्लेषण र व्याख्या विश्वका महत्वपूर्ण सञ्चार माध्यमहरुले गरिरहेका छन् । बाइडेन सरकारको शक्तिशाली व्यक्तित्वको सर्वप्रथम भारत भ्रमण नै हुनु आफैमा ठुलो महत्व राखेको छ । राष्ट्रपति बाइडेन ३ नोभेम्बरमा निर्वाचित भएपछी आफ्ना परराष्ट्रनीति को बारेमा विश्व समुदायलाई सुचित गरेका थिए । चुनावताका इण्डोप्यासिफिक नीति र क्वार्ड प्रति बाइडेनको धारणा प्रष्ट थिएन । धेरै आमसभामा इण्डोप्यासिफिक को सट्टामा एसियाप्यासिफिक शब्द प्रयोग गरेर ट्रम्प भन्दा पृथक दृष्टिकोण राख्ने गर्थे । शायदत्यो चुनावी रणनीति थियो । तर राष्ट्रपति हुने बित्तिक्कै बाइडेन इण्डोप्यासिफिक र क्वार्डको नीतिमा ट्रम्पको पदचापमा अघि बढिरहेको छ । अमेरिकी सेक्रेटरी अफ फोरेन एफीयर्स विल्कन को अगुवाइमा क्वार्ड (अमेरिका, जापान, अस्ट्रेलिया, र भारत) को परराष्ट्रमन्त्रीको बैठक तुरुन्तै हुनु र मार्च १२ मा क्वार्डको राष्ट्रप्रमुखहरुको विद्युतीय माध्यमबाट शिखर सम्मेलन हुनु जस्ता परिघटनाले बाइडेनको क्वार्ड प्रतिको धारणा र नीति मुखरित हुन्छ । शिखर सम्मेलन लगत्तै अमेरिकी रक्षामन्त्रीको भारत भ्रमण हुनु आफैमा महत्वपूर्ण विषय हुनपुगेको छ ।

विगत दशवर्षदेखि भारत र अमेरिका सामरिक रुपमा नजिक भैरहेको छ । भारतले अमेरिका सँग २० बिलियन अमेरिकी डलरको हतियार खरिद गरेको छ । साथ–साथै भारत र अमेरिका बीच विभिन्न किसिमका सामरिक सन्धी भएको छ । त्यस मध्ये कमकसा, लियुवा र वेका प्रमुख हुन् । साथ–साथै अमेरिकाले भारतलाई महत्वपूर्ण सामरिक साझेदार को रुपमापनि घोषणा गरेको छ । तदनुरूप बिना कुनै अनुमतिपत्र र कानुनी अड्चन बिना निजि क्षेत्रबाट पनि भारतले अमेरिका बाट हतियार खरिद गर्न सक्दछ । यहि नीतिद्वारा भारतले एपाची र चिनु जस्ता लडाकु हेलिकप्टर अमेरिका बाट खरिद गर्न सफल भएको देखिन्छ । सामरिक साझेदारको फायदाभारतले प्रचुर मात्रामा प्राप्त गरिरहेको छ । चीनसँग भएको भीडन्तमा भारतले अमेरिकी सुचना प्रविधिलाई उपयोग गरेर चीन सँग आँखामा आँखा जुधाएको थियो । भारत सँग सामरिक रुपले अमेरिकाको सामिप्यताको प्रधान कारण अमेरिकाको इण्डोप्यासिफिक नीति हो ।

संसारको सबभन्दा महत्पूर्ण व्यापारिक मार्गमा चीनको दखल र दब—बानहोस् भन्ने अमेरिकी नीति रहेको छ । यहि नीति अनुसार अमेरिकी रक्षामन्त्रीले आफ्नो वार्तामा भारतीय सुरक्षा सल्लाहकार अजित डोभेललाई इण्डोप्यासिफिक क्षेत्रलाई भारतलाई नेतृत्व लिन आग्रह गरेका छन् । इण्डोप्यासिफिक क्षेत्रमा दुईवटा प्रमुख अमेरिकी कमाण्डहरु छन् ः सेन्ट्रल कमाण्ड र अफ्रिकी कमाण्ड । भारतको यी दुईवटा कमाण्डमा पहुँच हुने बित्तिक्कै यस क्षेत्रमा भारतको सामर्थ्य बढ्न जान्छ । अर्थात् इण्डोप्यासिफिक क्षेत्रमा भारतको सामर्थ्य बढाउनु अमेरिकी नीति रहेको छ । अमेरिकी रक्षामन्त्रीले अमेरिकी र भारतीय कम्पनीको साझेदारीमा भारतमा नै हतियारको कारखानाहरु सञ्चालनगर्ने उद्घोष गरेको छ । आफ्नो समकक्षीय भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई अमेरिकी उच्च प्रविधि पनि उपलब्ध अमेरिकी नीति प्रष्ट गरेका छन् । साइबर र स्पेसका क्षेत्रमा पनि साझा लगानी र साझा अनुसन्धान गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

अमेरिका र भारतको साझा संकल्प र प्रतिबद्धतालाई विभिन्न दृष्टिकोणबाट विज्ञहरु समिक्षा गरिरहेको देखिन्छ । सामरिक जानकार प्रो. नालापथले इण्डोप्यासिफिक नीतिमा दुई वटै मुलुकहरुले चार्टर (साझा प्रतिबद्धता पत्र) सार्वजनिक गरेको खण्डमा मात्रै यस क्षेत्रका मुलुकहरुमा आशा र भरोसा बढ्ने छन् । अर्थात् दक्षिण चीन सागरमा चीनको दब–दबा ले गर्दा पूर्वीय एसियाली मुलुकहरु आक्रान्त भएका छन् । फिलिपिन्सले अन्तर्राष्ट्रिय अदालतमा चीन विरुद्ध विजय हासिल गरे तापनि उपलब्धि शुन्य भयो । अर्थात् चीनले अन्तर्राष्ट्रिय अदालतको निर्णयलाई मानमर्दन गर्दै अगाडी बढिरहेको अवस्था छ । यस अर्थमा चीनलाई लगाम कस्न साझा प्रतिबद्धता पत्रको अपरिहार्यता देखिन्छ । प्रो.नालापथका अनुसार अमेरिका र भारतको सामरिक साझेदारीको केन्द्रबिन्दु प्रजातन्त्र र मानव अधिकारलाई जोगाउने लक्ष्यबाट प्रेरित हुनु पर्दछ । अर्को शब्दमा भन्ने हो भने क्वार्ड र इण्डोप्यासिफिक रणनीतिको पछाडी चीनको बढ्दो वर्चस्व र दब–दबालाई नै रोक्नु हो । संसारमा चिनियाँ सेनालाई पछाडी फर्काउन सामर्थ्य बोकेका देशहरु मध्ये भारत पनि एक रहेको छ । डोकलामदेखि गलवानसम्म भारतीय सैनिकहरुले चिनियाँ सैनिकहरुसँग आमुने सामुने भएर सामना गरेको कुरालाई अमेरिका लगायत क्वार्ड सँग सम्बद्ध देशहरुले राम्ररी बुझेका छन् । भारत र अमेरिका बीच केहि मुद्दाहरुमा मतभेद पनि छन् ।

अमेरिकी रक्षामन्त्रीको यो यात्रा ती मुद्दाहरुलाई मत्थर गर्न पनि परिलक्षित भएको देखिन्छ । खास गरेर अफगानिस्तानको मुद्दामा अमेरिका र भारतको मत फरक देखिन्छ । अमेरिका अफगानिस्तानबाट आफ्नो सैन्यबललाई हटाउन जमर्को गरेको छ । साथ–साथै अफगानिस्तानको सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न भारतको भूमिकालाई अपेक्षा गरेको छ । अमेरिकाको प्रस्ताव भारतलाई मान्य छैन । विगतका केहि वर्ष देखि भारतले अफगानिस्तानमा प्रचुर लगानी गरेको देखिन्छ । हालसम्म विकास र निर्माणमा नै भारतले ३ बिलियन डलर अनुदानको रुपमा नै अफगानिस्तानमा खर्च गरेको छ । अर्को शब्दमा भन्ने हो भने अफगानिस्तानको सलमा ड्याम, प्रमुख सडकहरु, संसद भवन जस्ता अनेकौं योजनाहरु भारतले पुरा गरेको छ ।

भारतले अफगानिस्तानको जनसमुदायलाई सहयोग गर्न विभिन्न लोकक ल्याणकारी योजनाहरु चलाएका छन् । तर भारतले तालीबानी शक्तिहरुको भूमिकालाई स्वीकार गरेको छैन । तालिबान र पाकिस्तानको गठबन्धनले भारतमा आतंकवादी गतिविधिहरु बढिरहेको भारतले ठहर गरेको छ । तर अमेरिकाले तालिबानको सक्रियतालाई स्वीकार गरेको देखिन्छ । अमेरिकी रक्षामन्त्री ले भारतलाई अफगानिस्तानमा सक्रिय हुनु आग्रह गरेका छन् । भारतका पुर्व राजदुतअशोक सजनहारले भारतले आफ्नो राष्ट्रिय हितलाई मानसपटलमा राख्न अपिल गरेका छन् । अर्थात् भारतले आफ्नो साविक अडानबाट पछी पर्नु हुँदैन भन्ने सजनहारको तर्क देखिन्छ ।

भारत र अमेरिकाको साझेदारी ए. आइ. र फ. जि. मा बस्ने भएको छ । सुचना र प्रविधिको क्षेत्रमा चीनको बढ्दो पहुँचले गर्दा अमेरिका लगायत युरोपेली मुलुकहरु गोपनियता र तथ्यांक चोरी भैरहेको अवस्था छ । भारतको र अमेरिका सुचना र प्रविधिको क्षेत्रमा साझा संकल्पका साथ अघि बढेको खण्डमा चीनको मनोमानीलाई रोक्न सक्ने जानकारहरुको बुझाइ रहेको छ । कोरोनाको कहरमा युरोप, अमेरिका, भारत, जापान र अस्ट्रेलियाको सुचना र प्रविधिको साझेदारी भएकोले नै गर्दा विश्वले राहत पाएका छन् । यस अर्थमा सामरिक रुपले पनि क्वार्ड र इण्डोप्यासिफिक क्षेत्रका मुलुकहरुको साझा सहकार्यको अपरिहार्यता देखिन्छ ।

अमेरिकी रक्षामन्त्री को भारत यात्राले खास गरेर चीन र पाकिस्तानलाई प्रतीकात्मक रुपमा संकेत दिएका छन् । एकातर्फ आतंकवाद को क्षेत्रमा भारत सँग अमेरिका सहकारी गर्न प्रतिबद्ध देखिन्छ भने अर्को तर्फ चीनको दब–दबालाई निस्तेज गर्न प्रजातान्त्रिक गठबन्धनलाई बलियो बनाउन बाइडेन सरकारले आफ्नो सक्रियता देखाएको छ । अर्थात् अमेरिकी रक्षामन्त्रीको यो यात्राले इण्डोप्यासिफिक नीति र क्वार्डको संरचनालाई बलियो बनाउनेमा दृढ संकल्पित रहेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्