काठमाडौं, ९ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले नेकपा (माओवादी केन्द्र) ले नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेको कुरा उल्लेख गर्दै अहिलेसम्म माओवादी केन्द्रले किन समर्थन गरिरहेको त ? भन्दै फ्याट्ट समर्थन फिर्ता लिईहाले भो नि त भन्ने टिप्पणी गरेका छन् । उनले भने,‘उहाँहरु प्रधानमन्त्रीसँग नैतिकता छैन भन्नुहुन्छ, नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्नुहुन्छ, उहाँहरुको अनुसार त यो सरकार अनैतिक सरकार भयो नि, त्यसो हो भने यो अनैतिक सरकारलाई किन समर्थन गरिरहेको त ? फ्याट्ट समर्थन फिर्ता लिईहाले भो नि त ।’
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरु जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको स्पष्ट पारे । कतिपयले मुलुकमा फेरि अस्थिरता भयो भनेर टिकाटिप्पणी गरिरहेकोप्रति अहसहमति राखे । उनले भने,‘पहिलो कुरा त यो मुलुकमा अस्थिरता भयो भनेर जो भनिएको छ, कहाँ भयो अस्थिरता ? आफू मिल्न नसक्ने ? आफू काम गर्न नसक्ने ? अनि चलिरहेको सरकारलाई धारे हात लगाउँदैमा अस्थिरता हुन्छ र ? सरकार त चलिरहन्छ । निरन्तर चलिरहेको छ । केपी ओली ०७४ सालको निर्वाचनपछि प्रधानमन्त्री हुनुहुन्छ । अहिलेपनि हुनुहुन्छ । सरकार कहाँनिर अस्थिर भयो ? सरकार त निरन्तर छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेकपा (माओवादी केन्द्र) मा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेमा दुई धार रहेको सुनाए । उनले भने,‘संसद् अलिकति बिचमा हामीले, निर्वाचनतर्फ जाउँ न त, अलि÷अलि नयाँ फ्रेश म्याण्डेटमा जाउँ न त भन्ने कुरामा नेपाली कांग्रेसको दृष्टिकोण आज सुरेन्द्रमार्फत निकै खुलेर आयो । प्रष्ट ढंगले आयो । त्योभन्दा पुष ५ पछाडि, नेपाली कांग्रेस आन्दोलनमा थियो । त्यो आन्दोलन पार्टी सुदृढीकरण र निर्वाचनको लागि तयारी थियो । जसपाको पनि त्यही थियो । नेकपासम्वद्ध एउटा पक्ष भने सडक आन्दोलनमै थियो । तर, संसद् पूनःस्थापनापछि निर्वाचनको माहोल थियो, त्यो त हट्यो । हटेपछि अलिकति सरकार के हुन्छ ? भन्ने शंका सबैलाई लागेको छ । माओवादी केन्द्रबाट अहिले प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्यो भनिएको छ । त्यसको अर्थ केपी ओली अनैतिक भन्ने अर्थमा लिए हुनछ । त्यसो भए हामीले त भनिरहेका छौं कि अनैतिक सरकारलाई किन समर्थन गरिरहेको ? फ्याट्ट समर्थन फिर्ता लिईहाले भो नि त । तर, त्यो पनि जटिल रहेछ । उहाँहरुले समर्थन फिर्ता लिन सक्नुहुन्न । किन लिन सकनुहुन्न भने त्यहाँ भित्रपनि दुई वटा धार छ । एउटा धार समर्थन फिर्ता लिनैपर्छ, जे/जे पर्छ व्यहोरौं भन्ने छ । अर्को धार छ–होईन हिजो त सँगै बसेको हो नि त । फेरि सरकारमा मिलेर जाँदा के फरक पर्छ । त्यही भएर समर्थन फिर्ता लिन सक्नुभएको छैन् ।’
उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए के हुन्छ त ? भन्ने सवालमा पनि जवाफ दिएका छन् । उनले भनेका छन्–‘कांग्रेसको विचार प्रष्ट रुपमा आईसक्यो । माओवादीले समर्थन फिर्ता लियो भने उहाँले विश्वासको मत लिनुपर्छ । हामी समर्थन गर्दैनौं भनेको छ । अब अर्ली ईलेक्शनको सम्भावना छ । अर्ली ईलेक्शनमा जाने हो भने समर्थन फिर्ता लिए हुन्छ । हामी त वैशाख १७ र २७ मै निर्वाचको लागि तयार हो । माओवादीले समर्थन फिर्ता लियो भने देश फेरि निर्वाचनतर्फ अघि बढ्ुछ । यदि फिर्ता लिँदैन भने सरकार त बसिरहन्छ । राजनीतिक दलका आफ्ना एजेण्डा छन् ।’
उनले जनता समाजवादी पार्टी, नेपालका माग पूरा गराउन सरकार गम्भीर रहेको पनि सुनाए । उनले भने,‘जसपाका एजेण्डा छन् । उसलेपनि सरकारसामू आफ्ना एजेण्डा प्रस्तुत गरेको हो । नेकपा एमालेलाई सरकार सञ्चालनको लागि, कुनै दल केपी ओलीलई प्रधानमन्त्री मान्दैनौं भनेर हस्ताक्षर गरेर अपदस्थ गर्छु भनेर कोही लागेको छैन् । माआवादी समर्थन फिर्ता लिएपछि, कुन दल आउँछ ? कोही आउँछ भने, हामी २ वर्ष पर्खिन तयार छौं । यदि केपी ओलीबाहेकको सरकार बनाउँछौं भनेर कोही आउँछन् भने पनि हामी हाँसी–हाँसी स्वागत गर्छौं । हामीमा कुनै त्यस्तो द्धिविधा छैन् । उहाँहरुले मिलेर १३८ पुर्याएर सरकार बनाउँछु भन्नुभयो खुशीका साथ स्वागत गर्छौं ।’
नेता तामाङले अरु दलहरुलाई अलमल नगर्न आग्रह गरेका छन् । उनले देशलाई विकास र समृद्धिको यात्रामा अघि बढाउनुपर्ने धारणा राखेका छन् । उनले भने,‘अब सरकार विघटन र गठननमात्रै नगरौं, देशको विकास र समृद्धि गरौं । हाम्रो उद्देश्यमा भाँचो हाल्ने काम नगरौं । नेकपा एमालेमा पनि केही समस्या छन् । केही नेताहरुको मन मिलेको छैन् । यो पार्टी प्रतिपक्षमा बस्नुपरेछ भने अब दुई तिहाई बहमुतसहित फर्किन्छ । सरकारमा रहेर नै निर्वाचन गरेछ भने पनि बहुमतसहित फर्किनेछ । सबै कुरा ओपन छ । खल्ला छ । हामी लुकिछिपी गर्दैनौं । हाम्रो सबै कुरा खुल्ला रुपमा आउँछन् । केपी ओली स्पष्ट दृष्टिकोणसहित उभिनुहुन्छ । विकास र समृद्धिको अभियानमा लाग्नुपर्छ ।’