काठमाडौं, १० चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्सँग बदला लिनको लागि कुनै विजनेश नदिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आज (मंगलबार) बसेको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । सांसद थापाले संसद्को अपमान गर्ने प्रधानमन्त्री ओलीसँग जनताले यथोचित समयमा बदला लिने पनि टिप्पणी गरेका छन् ।
थापाले सम्बोधनको क्रममा भने,‘सम्माननीय सभामुख महोदय; कहिले प्रश्न छल्न हठात् बैठक स्थगित्, कहिले पार्टीभित्रको विरोधी तह लगाउन संसद् भंग, अनि अहिले प्रतिनिधिसभा भंग गर्ने शनक सही थयो भन्ने स्थापित गर्नको लागि संसदलाई कामविहीन बनाउने प्रपञ्च ! यो विधेयक अधिवेशन हामी काम गर्न तयार छौँ । यो एसिड आक्रमणकारीलाई नियन्त्रण गर्न कानून बनाउन दिईएन भनेर हल्हा गर्ने ! तर, संसद्लाई एउटा विधेयक पनि नदिने ? अनि विधेयकलाई कानून बनाउनको निम्ति चाहिने राष्ट्रियसभाको बैठक पनि नबोलाउने ! हामी स्पष्ट छौं–सम्माननीय सभामुख महोदय, जति दिन यो सरकार रहन्छ, संसदको तिरष्कार, अपमान र उपेक्षा गर्ने काम अझै बढ्दै जान्छ किनकी प्रधानमन्त्रीलाई यो संसद्संग बदला लिनुछ । हामी हाम्रो ठाउँबाट डटेर संसद्को गरिमा कायम राख्नका निम्ति लड्नेछौ । बाँकी जिम्मा जनताको । यथोचित समयमा जनताले यसको हिसाबकिताब गर्नेछन् । किनकी यो संसद् र सांसदको अपमान ! यो लोगो लगाउने केही थान सांसदको अपमान, तिरष्कार र उपेक्षा होईन सभामुख महोदय, यो ती जनताको अपमान हो । जसले यो संसद् बनाएको छ । जसले हामीलाई सांसद बनाएको छ । आफनो अपमानको बदला जनताले यथोचित समयमा लिनेछन् । यो संसद्भित्र बसेर यसको गरिमा जोगाउन हामी आफनो ठाउँबाट डटेर लठ्नेछौ । धन्यबाद ।