Logo

सशस्त्र प्रहरी कार्यालयको सामान आफ्नो गाडीबाट ढुवानी गर्दा कर्मचारी र प्रहरी मिलेर फसाइएको द्रोण केसीको आरोप



काठमाडौं, १० चैत्र । सशस्त्र प्रहरी कार्यालयको सामान लोड गरेर आफ्नो गाडीबाट ढुवानी गर्दा कर्मचारी र प्रहरी मिलेर फसाएको एकजना गाडी व्यवसायीले आरोप लगाएका छन् । मिनि भ्यानका धनी रुकुमका द्रोण केसीले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सशस्त्र प्रहरी कार्यालय नवलपुरबाट लोड गरेर सामान आफ्नो गाडीबाट ढुवानी गर्दा कर्मचारी र प्रहरी मिलेर फसाएर गाडी कब्जामा लिएको जानकारी दिएका हुन् ।

उनले नागढुंगा प्रहरीले आफूलाई सोधपुछ नै नगरी सवारी साधन र कपडा नियन्त्रणमा लिएको बताए । त्रिभुवन भन्सार कार्यालयले पनि सोधपुछ नै नगरी सामान लिएर आफूलाई थुनेको आरोप लगाए । उनले आफुलाई २ दिन हिरासतमा राखेर कारोनाको कारण भन्दै २ लाख ३० हजार ५ सय रुपैयाँ जरिवाना तिराएर छाडेको बताए । उनले सामान सहित गाडी भन्सार कार्यालयले नियन्त्रणमा लिएर लिलामी प्रक्रियामा राखेकोमा आपत्ति जनाए ।

मालसामान पास गराउने जिम्मा लिएका रामहरी लुइँटेलले रक्सी खाएको भन्दै उनकै कारणले सामान बरामद भएको बताए । उनले भन्सार कार्यालयलाई अनुसन्धान गर्न आग्रह गरे । ‘गाडी र चालकलाई मात्र किन कारवाही भयो ?’ उनले प्रश्न गरे, ‘सामान लोड गरी पठाउने सशस्त्र प्रहरीलाई किन सोधपुछ गरिएन ?’ उनले २ लाख ३० हजार ५ सय रुपैयाँ के को आधारले जरिवाना गरिएको हो भन्दै १६ सय कुर्ता सुरुवाल सेट भएको बताए । उनले भने, ‘त्यही सामानको मुल्य बजारमा ३ हजार रुपैयाँ प्रतिपिस छ ।’

कार्यक्रममा बोल्दै सरकारी कर्मचारीले नै तस्करी गर्ने गरेको आरोप लगाए । उनले भने, ‘सरकारी बर्दी लगाएर, सरकारी बन्दुक बोकेर, सरकारी परिचय पत्रको मुकुण्डो घाँटीमा झुण्डाएर तस्करी गर्छन् ।’ दलाल मार्फत राजस्व छलि सरकारी सम्पत्ति आफ्नो नाममा कसरी गराउछन् भनेर स्पष्ट पार्न चाहेको बताए । ‘बहालवाला कर्मचारीहरुले आफैले भ्रष्टाचार, घुसखोरी र तस्करी गर्छन् र सोझो र निमुखा जनतालाई फसाउछन् र कारवाही गर्छन् ।’ उनले भने, ‘त्यसको उदाहरण म आफै पनि हो ।’

कार्यक्रममा उनले निजामती बहालवाला कर्मचारीहरु ६ जनाको नाम र २ जना माल पास गराउने दलालको नाम समेत सार्वजनिक गरेका छन् । नवलपुर गैडाकोट नगरपालिकाका वडा न.१० पितौंजीस्थित सशस्त्र प्रहरीबल ३१ नं गुल्मपति र उनी मातहतका सशस्त्र सिपाहिहरु, महानगरिय प्रहरीवृत्त थानकोटमा कार्यरत डि.एस.पी. घनश्याम श्रेष्ठ, इन्स्पेक्टर हेमन्त थापा, त्रिभुवन विमानस्थलका भन्सार कार्यालयका प्रमुख प्रशासक शम्भु प्रसाद मरासिनी, मुद्वाफाँटका अनुसन्धान अधिकृतहरु नारायण कार्की र भिम तिम्सिना लगायतको संरक्षणमा तस्करी भएको आरोप लगाएका छन् ।

प्रहरीको निर्देशनमा मालसामान ओसारपोसार गर्दा विभिन्न निकायसँग समन्वय गरी माल पास गराउने दलालहरु भन्दै मकवानपुर मनहरी गाउँपालिका हाँडीगाउँका रामहरी लुइँटेल र दाङ घोराही उपमहानगरपालिका वडा न. १४ का मेघे रावतको मिलेमतोमा तस्करी हुने गरेको आरोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्